चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ । विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो ।
गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेपछि भर्ना प्रक्रिया स्थगन गरिएको हो । सो संकायका डिन डा. शारदा थपलियाले प्राध्यापक र विद्यार्थीबाट गुनासो आएपछि हालका लागि भर्ना स्थगन गरिएको बताइन् ।
भर्ना प्रक्रियामा कुनै अनियमितता नभएको भन्दै उनले यस विषयमा विरोध गरिरहेका प्राध्यापक, विद्यार्थीलगायतसँग छलफल गरी उनीहरूलाई कुरा बुझाएर मात्र भर्ना लिने थपलियाले बताए । आफूले विरोध जनाएकालाई वार्तामा बोलाएको बताउँदै उनले भर्ना प्रक्रिया नियमसम्मत भएकाले कुनै समस्या नहुने उल्लेख गरे ।
प्रवेश परीक्षामा अनियमितता भएको भन्दै विश्वविद्यालयकै प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल विद्यार्थी संघलगायतले विरोध जनाएका छन् भने नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले सो विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।