आदिवासीको हक अधिकारका लागि राप्रपा नेपाल प्रतिबद्ध

२८औं विश्व आदिवासी विश्व आदिवासी दिवस लाई नेपालमा सप्ताहव्यापी रुपमा मनाइरहेको अवस्थामा राप्रपा नेपालको आदिवासी जनजाति विभागले पनि एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । 

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमका वक्ताहरुले आदिवासी जनजातिहरुको हक अधिकारको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेर्पाले पहिचानसहितको राज्य दिने भनेर सोझा अदिवासी जनजातिलाई उकासेर युद्धमा होम्ने क्रान्तिकारी भनिने राजनीतिक दलहरुले आफू सत्तामा पुग्ने भर्याङको रुपमा मात्र प्रयोग गरेको आरोप लगाए । 

तीन तहको संघीयता मुलुकले थेग्न नसक्ने बताउँदै शेर्पाले पुरानो पाँच विकास क्षेत्रको अवधारणा नै उत्तम रहेको बताए । 

आउँदो निर्वाचनमा संविधानको मर्मअनुरुप आदिवासी जनजातिहरुको समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवारको बन्दसूचीमा नाम समावेश गर्न सबै राजनीतिक दललाई आग्रह गर्दै उनले समावेशी र समानुपातिक प्रतिनिधित्वको नाममा आफ्ना परिवार र नातागोता समेट्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

राप्रपा नेपालका सहमहामन्त्री एवं पार्टीका आदिवासी जनजाति विभाग प्रमुख तेजकुमार कुरुम्वाङले नेपालको सनातनी सभ्यता, निरन्तरतासहितको परिवर्तन, सनातन धर्म हाम्रो राष्ट्रिय पहिचान र भाषा, धर्म, संस्कार संस्कृति, ज्ञान र  सीपको संरक्षण र प्रवर्द्धन गर्ने भन्ने राप्रपा नेपालको नीति रहेको बताए । 



आदिवासी जनजाति समुदायको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक तथा भाषिक समस्यालाई समाधान गरी सर्वांगीण विकास तथा उत्थान गर्नका लागि राष्ट्रिय जनजाति विकास समिति गठनको सुरुवाती राप्रपा नेपालका अध्यक्ष कमल थापाबाट भएको उनले बताए । राप्रपा नेपाल आदिवासी जनजातिको हक, हित र अधिकारको पक्षमा रहेको उनको भनाइ छ । 

कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय दिलविकास राजभण्डारी, लाक्पा तामाङ, प्रवक्ता वशन्तमान सिंह अधिकारी, वागमती प्रदेश अध्यक्ष माधव खत्री, सहायक महामन्त्री ममता राईलगायतका वक्ता सहभागी थिए । 



नेपालमा आदिवासी जनजातिको अवस्थाको बारेमा प्रकाश पार्दै उनीहरुले आदिवासीको हक, हित र अधिकार रक्षाको निम्ति सिंगो राप्रपा नेपाल प्रतिबद्ध रहेको बताए।

  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १८:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया