दीपशिखाको नजर दुई निर्वाचन क्षेत्रमा, पहिलो प्राथमिकता सिन्धुपाल्चोक-१

रामप्रसाद सापकोटा आफ्नो वास्तविक नामभन्दा दीपशिखाबाट परिचित छन् । १ माघ २०५४ मा पूर्णकालीन भएर जनयुद्धमा होमिएका उनी हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । जनयुद्धमा होमिनुअघि दीपशिखा एउटा राष्ट्रिय दैनिकमा कार्यरत थिए । त्यहाँ उनी पियनको जागिर गर्थे र राति नन्दीरात्रि स्कुल नक्सालमा पढ्थेँ । 

पत्रिका बन्द भएपछि भने दीपशिखा ठमेलको पिजेरा रेष्टुरेण्टमा काम गर्न थाले । जनयुद्धपछि मुलुक शान्ति प्रक्रियामा आयो । जनयुद्धमा होमिएका माओवादी केही लडाकुहरू पार्टीका विभिन्न संगठनमा आबद्ध भए । जनमुक्ति सेना समायोजनपछि माओवादीको युवा संगठन वाइसिएलको उदय भयो । 

०५४ मा भूमिगत भएका दीपशिखाले वाइसिएलको केन्द्रीय संयोजकको भूमिकामा रहेर पनि केही वर्ष काम गरे । जनयुद्ध, १९ दिने जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै मुलुकमा संघीयता आइसकेको छ । मुलुकको राजनीतिक कोर्ष परिवर्तन भएसँगै युवा नेताहरू राजनीतिमा हाबी हुनुपर्छ भन्ने जबरजस्त आवाज उठिरहेको छ । 

माओवादी नेता दीपशिखा पनि युवाको आवाज सम्बोधनका लागि संसदमा आउन चाहन्छन् । उनले नै ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने बताइसकेका छन् ।  दीपशिखाले सिन्धुपाल्चोक वा भक्तपुर–२ मध्ये कुनै एक क्षेत्रबाट टिकट प्राप्तिका लागि गठबन्धनका शीर्ष नेताहरूलाई आग्रह
गरिरहेका छन् । 

‘मेरो जन्मथलो सिन्धुपाल्चोक हो । हाल भक्तपुरमा बसोबास छ । आगामी निर्वाचनमा मेरो पनि उम्मेदवारी रहन्छ भन्ने कुरा भएको छ । गठबन्धन, पार्टीले टिकट दिएको खण्डमा सिन्धुपाल्चोक र भक्तपुरमध्ये कुनै एक क्षेत्रबाट उम्मेदवारी रहन्छ,’ दीपशिखाले फरकधारसँग भने । 

उनी आसन्न निर्वाचनमा युवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् । युवालाई प्राथमिकतामा नराखे राजनीतिक दलहरूकै औचित्य नरहने उनको भनाइ छ । ‘सबै राजनितिक दलहरूले युवाहरूलाई प्राथमिकतामा राख्नुपर्छ । नयाँ अनुहारलाई प्राथमिकता नदिने हो भने स्वतन्त्र आदि इत्यादि भन्नेहरूले राजनीतिक दलको अस्तित्व समाप्त गर्छन्,’ दीपशिखाले भने ।



माओवादी केन्द्रले युवालाई पार्टीभित्र २० प्रतिशत अधिकार दिएको समेत उनको दाबी छ । उनका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीबाट ४० प्रतिशत युवाले जितेका छन् । 

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा माओवादीको जनमत बलियो रहेको मानिन्छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट वर्तमान सभामुख अग्नि सापकोटा विजयी भएका थिए । उनले कांग्रेसका मोहनबहादुर बस्नेतलाई हराएका थिए ।



भक्तपुर क्षेत्र नं २ मा तुलनात्मक रूपमा माओवादी केन्द्र कमजोर मानिन्छ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट एमालेका महेश बस्नेत विजयी भएका थिए । बाम गठबन्धनको साझा उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका दमननाथ ढुंगानालाई दोब्बर मतले पराजित गरेका थिए ।

  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १३:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया