'कुमारी आमा'का नामले परिचित निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि उनले आत्मदाह प्रयास गरेकी हुन् ।
आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले रोकेको छ । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग सम्बोधन नभएको भन्दै आत्मदाह प्रयास गरेकी हुन ।
उनी आफ्ना माग सम्बोधन नभएको भन्दै शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीलतनिवासमा धर्ना दिन पुगेकी थिइन् । उनले त्यहाँ आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले धरपकड गरेर नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर महाराजगञ्ज वृत्तमा लगिएको छ । प्रहरीले उनको साथबाट लाइटर र पेट्रोल हालिएको बोतल बरामद गरेको छ ।
यसअघि उनको आमरण अनशन पाँचबुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर तोडाएका थिए । तर, आफूले अहिलेसम्म न्याय नपाएको भन्दै उनी पुनः आमरण अनशनमा सुरु गरेकी थिइन् ।
२० साउनमा दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी उनलाई अनसनस्थल सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले नियन्त्रणमा लिएर वसन्तपुर पुर्याएको थियो ।
१७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आएकी छन् । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उनको भनाइ छ ।
जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी उनले हालसम्म न्यायको अनुभूति गर्न नसकेको बताउँदै आएकी छन् ।
उच्च अदालतले मुद्दाको किनारा नलगाउँदा आफूमाथि थप अन्याय भएको उनले बारम्बार गुनासो गर्दै आएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।