नेपाली क्रिकेटका यी चुनौती पन्छाउन सक्लान मनोज प्रभाकरले ?
फाइल तस्वीर

नेपाल क्रिकेट संघ (क्यान )ले भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । यो सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसेकेको छ । 

पूर्वप्रशिक्षक पुबुदु दाशानायकेको प्रशिक्षणमा पछिल्लो पटक दुइटा भ्रमण गरेको टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौती भने धेरै छन् । 

पुबुदुले प्रशिक्षकबाट छोडेपछि भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो । तर, नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतीको सामना गर्न उनलाई त्यति सहज भने हुने छैन । किन भने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आएका छन् । 
 
पछिल्लो पटक नेपालले स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षाअनुसारको नतिजा निकाल्न सकेन । चार खेलमध्ये एक खेलमा मात्र सुखद् नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारण केलाउन थालिएको छ । मुख्यतः टोलीमा एकजुट समस्या, ब्याटिङ समस्या बाहिरी सतहमा देखिन थालेका छन् । यससँगै एक दिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ । 

क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए । उनले प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

सिंहले भने, ‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौं । पारिवारिक कारणले उहाँ जानुभयो । रिक्त भएको पदमा लामो कसरतपछि मनोज प्रभाकरलाई ल्याउने निर्णय गरेका छौं । उहाँलाई  मासिक रुपमा हाराहारी १४/१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ । उहाँ अनुबन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाई पाउने अपेक्षा राखेको छ । किनभने कुनै समय भारतका लागि प्रभावकर अब्बल खेलाडी थिए । पछिल्लो समय अफगानीस्तानलाई टेस्ट नेशन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो ।’

प्रशिक्षक मनोज प्रभाकर शनिवार साँझ नेपाल आउँदै छन् । नेपाली टोली सम्हाल्न आउनलागेका मनोजसामू नेपाली क्रिकेट सुधार गर्ने चुनौती धेरै छन् । 



उनलाई सिमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्ने पहिलो चुनौति रहेको छ । प्रभाकर क्रिकेटका लागि कुनैपनि कन्जुस्याइँ नहुने अब्बल देश भारतका खेलाडी हुन् । जहाँ पूर्वाधारको कुनै कमी थिएन । तर उनलाई नेपालमा भएको सीमित साधानको अधिकतम प्रयोग गर्दै विश्व स्तरमा प्रतिष्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ ।

नेपाल, ओमान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, अमेरिका र युएईलाई एसोसियटका शीर्ष टोलीका रुपमा लिइन्छ । तर, लगानी र संरचनाको हिसावमा नेपाल र ती देशको आकाश पातालको फरक छ । त्यसलै प्रभाकरका सामु सीमित स्रोत र साधनका बाबजुत पनि बलियो टोली बनाउनुपर्ने चुनौती छ । 



तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भएपनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ । नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ । कमजोर ब्याटिङ सुधार प्रभाकरका लागि अर्को चुनौती हो । 
 
अहिले टोलीमा नयाँ युवा खेलाडीको वचश्र्व रहेको छ । टोलीमा अनुभवी खेलाडी प्रायः शून्य छन् । यही अवस्थामा क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताउँछन् । उनले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए । 

पाठकले भने, ‘अहिले नेपाली टोली सन्तुलित छ । युवा टोलीको वर्चश्व छ, जुन माथि चढ्ने क्रममा छ । नयाँ टोलीले जिम्मेवारी लिन चाहन्छ । सिनियर खेलाडीले बिस्तारै विश्राम लिने अवस्था पनि छ । अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ । क्रिकेटको स्तर अघि बढाउनका लागि प्रशिक्षकसँग हामीले योजना माग्छौं । उहाँले ल्याएको योजनलाई हामी सम्बोधन गछौं ।’

वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशी पनि परम्परागत ब्याटिङलाई सुधार गर्नुपर्ने र ब्याटिङ केन्द्रित प्रशिक्षण निकै नै आवश्यक रहेको बताउँछन् । 

उनी भन्छन् , ‘सबैभन्दा पहिलो र महत्वपूर्ण चुनौती भनेको नेपाली क्रिकेट टोली ब्याटिङ पक्ष हो । नेपालको ब्याटिङमा परम्परागत कमजोरी छ । धेरै खेलमा नेपाली टोली ब्याटिङकै कारण पराजित हुन पुगेको छ । सोही कारण ब्याटिङ पहिलो चुनौती हो । सुधार लागि अन्य विकल्प खोज्नु परेपनि क्यान तयारी हुनुपर्छ । एक दिवसीय, दुई दिवसीय अथवा तीन दिवसीय खेलाउने पर्ने हो । ब्याटिङ केन्द्रीत हुनुपर्नेछ ।’

प्रभाकारलाई पूर्वप्रशिक्षकले दर्शाएको टोली भित्रको गुट/उपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ । मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप पनि खेलाडीमा नलाग्ने गरेको होइन । 

टोलीमा एकताको अभाव भएको टिप्पणी सतहमा आइसकेको अवस्थामा टोलीलाई एक जुट बनाउने जिम्मेवारी पनि प्रशिक्षकको काँधमा रहेको पत्रकार राजवंशी बताउँछन् ।

उनले भने ‘प्रभाकरका लागि अर्को चुनौती भनेको टोली भित्रको गुट अन्त्य गर्नु हो । क्रिकेट टोलीभित्र एकताको अभाव छ भनिएको छ । सबै खेलाडीलाई एकतावद्ध बनाउन प्रशिक्षकले मात्र नभएर क्यानले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ ।’ 

प्रभाकरका लागि अर्को चुनौती एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु पनि रहेको छ । यसका लागि उनले थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था छ । विश्वकप क्रिकेट लिग–२ को शीर्ष ३ मा रहँदै एकदिवसीय विश्वकपको बाटो जीवितै राख्नु तथा २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ ।

  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १६:४४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया