कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले अदालतको पत्रले तत्काल शपथ कार्यक्रम रोकिएको जानकारी दिए ।
'पहिला अदालतको पत्र आइपुग्यो, मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेको पत्र बिहीबार साँझ प्राप्त भयो,' उनले भने, 'उच्च अदालतको निर्देशनात्मक आदेशका कारण तत्काललाई शपथ रोकिएको छ ।'
गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकाल स्वतः सकिएपछि रिक्त मन्त्रालयको जिम्मेवारीमा माओवादी केन्द्रले डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई सिफारिस गरेको थियो ।
कार्चेन नियुक्तिविरुद्ध २०७८ माघ अन्तिम साता परेको रिट निवेदनको बुधबार अन्तिम सुनुवाइ गर्दै उच्च अदालतले मन्त्रिपरिषद् गठनमा समावेशी सिद्धान्त अपनाउन निर्देशनात्मक आदेश दिएको हो ।
आठ सदस्यीय मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व नभएपछि अदालतले फैसलाको जानकारी गराउँदै आदेशानुसार गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश प्रमुखको कार्यालयलाई ध्यानाकर्षण गराएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।