साकेलाका चार कर्मचारीसहित पाँच जनालाई कोरोना संक्रमण

खोटाङको साकेला गाउँपालिकाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । पुनः कोभिड–१९ को महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टिजेन परीक्षण गर्दा चार कर्मचारी र एक जना घरबेटीलाई संक्रमण पुष्टि भएको हो । 

दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्था बारे जानकारी लिनका लागि एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । 

संक्रमितलाई होमआइसोलेसनमा राखिएको छ । कर्मचारीलाई संक्रमण देखिए पनि गाउँपालिकाको कार्यालयको सेवा भने रोकिएको छैन । सामाजिक दुरी कायम गरेर सेवा प्रवाहको व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए । ‘कोभिड–१९ लागेको छ भनेर टेस्ट गरेको होइन । नागरिकसँग प्रत्यक्ष जोडिएका कर्मचारी र पदाधिकारीको स्वास्थ्य अवस्था बारेमा जानकारी दिएर स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न टेस्ट गरिएको हो,’ अध्यक्ष राईले भने, ‘सेवा प्रदान गर्ने पक्ष सुरक्षित भए मात्र नागरिक सुरक्षित हुन्छ । प्राप्त नतिजाका आधारमा नागरिकलाई संक्रमणबाट जोगाउने थप सुरक्षा अपनाउने छौँ ।’ 

खोटाङमा पुनः कोभिड–१९ को संक्रमण फैलिन थालेको छ । तर अन्य स्थानीय तहले एन्टिजेन परीक्षणमा भने चासो दिएका छैनन् । 





  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १८:४१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया