बागमती प्रदेशमा ६ सयभन्दा बढी स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत

बागमती प्रदेश सरकारले ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयको माग अनुसार आर्थिक वर्ष ०७९/०८० का लागि मेडिकल अधिकृत, नर्स, फार्मेसी अधिकृत, ल्याबको जनशक्ति, सवारी चालक लगायतको दरबन्दी स्वीकृत भएको हो ।

 मन्त्रीपरिषद्बाट स्वास्थ्य मन्त्रालयमा ६ जना, स्वास्थ्य निर्देशनालयमा १६ जना, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ जना, जनस्वास्थ्य प्रयोगशालामा १३ जना, स्वास्थ्य तालिम केन्द्रमा २ जना, आयुर्वेद औषधी उत्पादन केन्द्रमा १६ जनाको दरबन्दी स्वीकृत भएको छ ।

यसै गरी, प्रदेश अस्पतालमा स्तरोन्नति भएका ५ सहित १३ अस्पतालका लागि ४ सय ६९ जना, १३ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका लागि ५४ जना र १३ वटा स्वास्थ्य कार्यालयका लागि ४९ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए ।

स्वीकृत दरबन्दीमा करारमार्फत जनशक्ति परिपूर्ति भएपछि प्रदेशको स्वास्थ्य सेवा थप प्रभावकारी हुने उनले बताए । दरबन्दी स्वीकृत भएपछि स्वास्थ्य इकाई हरुमा स्वास्थ्य समस्याको पहिचान, परीक्षण, निदान, रोकथाम र नियन्त्रणको काममा टेवा पुग्ने उनको भनाई छ । उनले चालु आर्थिक वर्षका लागि स्वीकृत दरबन्दीबाट प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव केही हदसम्म कम हुने र गुणस्तरीय सेवा प्रवाहमा मद्दत पुग्ने बताए ।

स्वीकृत दरबन्दी अनुसार पदपूर्तिको काम छिटै अघि बढ्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा सधैँ नियमित र विपद्का लागि तयारी अवस्थामा रहनुपर्ने भएकाले स्वीकृत दरबन्दी अनुसार पदपूर्तिलाई तीव्रता दिइने मन्त्रालयको दाबी छ । 





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १३:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया