मधेसका यी ३९ स्थानीय तहले अझै पेस गरेनन् बजेट, सबैभन्दा बढी रौतहटका ९ पालिका
फाइल तस्वीर

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको चार हप्ता बितिसक्दा पनि मधेस प्रदेशका ३९ स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन् । 

गत आर्थिक वर्षको अन्तिम महिना १० असारभित्र सार्वजनिक गर्नुपर्ने बजेट मधेस प्रदेशका ३९ स्थानीय तहले अझै सार्वजनिक नगरेको पाइएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६९० स्थानीय तहले मात्र हालसम्म बजेट पेश गरेका छन् । 

बजेट पेश नगरेका ६३ स्थानीय तहमध्ये मधेस प्रदेशका ३९ स्थानीय तह रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । 

मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये ९७ स्थानीय तहले मात्र बजेट पेस गरेको पाइएको छ । यस प्रदेशमा बजेट पेस गर्ने स्थानीय तह ७१.३ प्रतिशत रहेका छन् । यस प्रदेशका २८.७ प्रतिशत स्थानीय तहले अझै बजेट पेश गरेका छैनन् ।

बजेट पेस गर्न नसकेका प्रदेशका ३९ स्थानीय तहमध्ये सबैभन्दा बढी रौतहटका ९ र सबैभन्दा कम महोत्तरीका एउटा पालिका छन् । 



त्यस्तै, सप्तरीका ५, सिरहाका ६, धनुषाका ५, सर्लाहीका ३, बाराका ५ र पर्साका ५ वटा पालिकाले बजेट ल्याउन सकेका छैनन् ।  

सप्तरीको १८ पालिकामध्ये कञ्चनरुप नगरपालिका, बोदेबरसाईन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, विष्णुपुर गाउँपालिका र बलान बिहुल गाउँपालिकासहित ५ वटा पालिकाले बजेट प्रविष्ट गरेका छैनन् ।  



त्यस्तै, सिरहाका १७ मध्ये ६ पालिकाले बजेट ल्याएका छैनन् । जिल्लाको मिर्चैया नगरपालिका, सिरहा नगरपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपालिका, नवराजपुर गाउँपालिका र बरियारपट्टी गाउँपालिकाले बजेट पेस गर्न सकेका छैनन् । 

यता, धनुषाका १८ स्थानीय तहमध्ये धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र धनौजी गाउँपालिकासहित ५ वटा पालिकाले अझै बजेट प्रविष्ट गर्न सकेका छैनन् । 

महोत्तरीका १५ स्थानीय तहमध्ये सोनमा गाउँपालिकाले मात्र बजेट ल्याउन सकेको छैन् भने अन्य १४ स्थानीय तहले बजेट प्रविष्ट गरिसकेका छन् । 

त्यस्तै, सर्लाहीको २० स्थानीय तहमध्ये मलंगवा नगरपालिका, बागमती नगरपालिका र विष्णु गाउँपालिकाले बजेट ल्याउन बाँकी रहेको छ । 

रौतहटका ५० प्रतिशत स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । जिल्लाका १८ स्थानीय तहमध्ये ९ स्थानीय तहले बजेट प्रविष्ट गरेका छैनन् । बजेट नल्याउने पालिकामा ईशनाथ नगरपालिका, कटहरिया नगरपालिका, दुर्गाभगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका छन् । 

बाराका १६ पालिकामध्ये ५ पालिकाले बजेट ल्याउन सकेका छैनन् । जिल्लाका महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, पचरौता नगरपालिका र प्रसौनी गाउँपालिकाले अझै बजेट प्रविष्ट गर्न सकेका छैनन् । 

त्यस्तै, पर्साका १४ स्थानीय तहमध्ये पोखरिया नगरपालिका, धोबीनी गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकासहित ५ वटा पालिकाहरुले बजेट ल्याएका छैनन् ।

  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १६:२३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया