जनकपुरधाममा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी ‘निसाना’

भ्रष्टाचारविरुद्धको दुईदिने कार्टुन प्रदर्शनी जनकपुरधाममा सुरु भएको छ । स्थानीय बार एसोसिएशनको सभाहलमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।

देशमा विद्यमान भ्रष्टाचारलाई केन्द्रमा राखेर बनाइएका चर्चित कार्टुनिस्टका दर्जनौँ कार्टुन प्रदर्शनमा राखिएका छन् । उक्त कार्यक्रम ‘कार्टुनिस्ट क्लब अफ नेपाल’ले आयोजना गरेको हो । कार्यक्रम आइतबारसम्म चल्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले कुनै पनि देशको मुल शासक कठोर नभए सम्म देशका तल्लो तहमा भ्रष्टाचारको अन्त्य हुन नसक्ने बताए । 

उनले देशमा हाल दिउँसै रात देख्ने गरि भ्रष्टाचार भइरहेको जिकिर गरे । मन्त्री साहले भ्रष्टाचार मात्र नभई देशमा रहेको विद्यमान वेथितिविरुद्व अहिले कार्टुनिष्टहरु समाचार र लेख भन्दा पनि प्रभावकारी कार्टुन बनाएर सचेतना जगाउने काम गरेको भन्दै प्रशंसा गरे ।

वरिष्ठ साहित्यकार रोशन जनकपुरीले हजारौं व्यक्तिको मनको भावना एउटै कार्टुनमा झल्किने भएको हुँदा कार्टुनलाई मनोरञ्जनका साधनका रूपमा मात्र लिनु समाजका लागि हितकार नहुने बताए । उनले भने, ‘यो एक सम्पूर्ण जनचेतना हो, समाचार र फोटो भन्दा पनि रोचक टुल हो ।’ 



क्लबका सदस्य केशव राज खनालले भ्रष्टाचारविरुद्ध जनजागरणका लागि देशव्यापी रूपमा यस्ता कार्टुन लिएर पुग्ने क्रममा आफूहरू मधेसको राजधानी जनकपुरधाम आइपुगेको बताए । 



कार्टुनिस्ट क्लब अफ नेपालले यसअघि ४ देखि ६ वैशाखसम्म काठमाडौंमा र २८ देखि ३० जेठसम्म पोखरामा पनि सो प्रदर्शनी गरेको थियो ।

  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १६:४८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया