लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले प्रदेश सरकारको आन्दोलनलाई औचित्यहीनको संज्ञा दिएका छन् ।
प्रहरी समायोजनको माग गर्दै आइतबारदेखि प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले सुरु गरेको आन्दोलनको कुनै औचित्य नरहेको उनले बताएका हुन् ।
मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष सोनलले जनकपुरधाममा नभई काठमाडौंमा गएर धर्ना प्रदर्शन गर्न प्रदेश सरकारलाई सुझाब दिएका छन् । उनले जनकपुरधाममा धर्ना बसेर केन्द्र सरकारमाथि कुनै प्रकारको दबाब दिन नसकिने दाबी गरेका छन् ।
लोसपाका संसदीय दलका नेता सोनलले सर्वसम्मतले प्रहरी समायोजन विधेयक पारित भएपछि यसको कार्यान्वयनको जिम्मा नेपाल सरकारको भएको बताए ।
यहाँ आन्दोलन गरेर केही नहुने र समायोजन रोकेका नेपाल सरकारलाई दबाब दिन काठमाडौंकेन्द्रित आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।
‘हामीले केन्द्र सरकारको विरुद्धमा आन्दोलन गर्नुपर्छ । प्रदेशमा आन्दोलन गरेर केही हुँदै,’ उनले भने, ‘प्रदेशमा जति दल सरकारमा छन्, ती सबै दलहरु केन्द्रीय सरकारमा पनि छन् । त्यसैले उनको साथमा गएर आन्दोलन गर्नुपर्छ । प्रदेशमा आन्दोलन गरेर केही मिल्दैन ।’
केन्द्र सरकारमाथि दबाब बढाउन काठमाडौंकेन्द्रित आन्दोलन गरिए त्यसमा प्रतिपक्षी दलले पनि सहयोग गर्ने उनले बताए ।
संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय अगाडि एकहप्ते धर्ना सुरु गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।