न्यूजिल्याण्डसँगको टी–२० सिरिजमा ‘क्लिन स्विप’ बाट जोगियो वेस्ट इण्डिज

न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजमा घरेलु टोली वेस्ट इण्डिज ‘क्लिन स्विप’ हुनबाट जोगिएको छ । आज बिहान सम्पन्न तेस्रो खेलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै वेस्ट इण्डिज ‘क्लिन स्विप’ हुनबाट जोगिएको हो ।

यद्यपि सिरिज भने उसले २–१ ले गुमायो । तेस्रो खेलमा न्यूजिल्याण्डले दिएको १४६ रनको लक्ष्य वेस्ट इण्डिजले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि शामराह ब्रुक्स र ब्रेण्डन किंगले अर्धशतकीय पारी खेले । ५९ बलको सामना गरेका ब्रुक्सले तीन चौका र दुई छक्कासहित अविजित ५६ रन बनाए । त्यस्तै, किंगले ३५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५३ रनको पारी खेले ।

डेभन थोमस पाँच रनमा आउट हुँदा कप्तान रोभम्यान पावेलले १५ बलमा दुई छक्का र दुई चौकासहित अविजित २७ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि इश सोढी र टिम साउथीले एक/एक विकेट लिए ।

त्यसअघि जमैकास्थित सबिना पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनायो । उसका लागि ग्लेन फिलिप्सले ४१, कप्तान केन विलियम्सले २४, डेभन कन्वेले २१, मार्टिन गुप्टिलले १५, डारियल मिचेलले १४ र मिचेल सान्टनरले १३ रन बनाए ।

वेस्ट इण्डिजका लागि ओडेन स्मिथले तीन, अकील हुसेनले दुई, हेडेन वाल्स र डोमेनिक ड्रिक्सले एक/एक विकेट लिए । सिरिजको पहिलो र दोस्रो खेलमा न्यूजिल्याण्ड क्रमशः १३ र ९० रनले विजयी भएको छ ।  





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार ७:१५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया