देउवाले कार्यकर्तालाई भने - आउने चुनावमा ध्यान दिऊँ, कांग्रेसलाई ठूलो पार्टी बनाऔँ
फाइल तस्बिर

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ । कोभिडबाट जनताको जीवनलाई सहज बनाउने चुनौती पनि थियो । त्यस्तै देशमा सुशासन, लोकतान्त्रिक मूल्यमान्यता र संविधानको भावना अनुसार देशको शासन सत्ता चलाउने चुनौती पनि थियो । एमसिसीबारे व्यापक भ्रम सृजना गरिएको थियो । ती सबै समस्या समाधान गर्न मेरो नेतृत्वको सरकारले महत्त्वपूर्ण सफलता हासिल गरेको हो,’ उनले भने, ‘अब हाम्रो ध्यान आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन तपाईँहरूको ठूलो भूमिका हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ 

कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा सोमबारबाट सुरु भएको कार्यक्रममा बोल्दै देउवाले सो निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । लोकतन्त्रमा जनताभन्दा ठूलो अरू कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वाससमेत व्यक्त गरे । 

‘गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा सफलता हासिल गरेका हौँ । फेरी गठबन्धन गरेर जानका लागि हामीले छलफल गरिरहेका छौँ । स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको मन जित्ने काम गर्नु पर्दछ । जुन ठाउँमा जनताका मन जितिएको छ, कामहरू भएका छन् । त्यहाँ एक्लै चुनाव लड्दा पनि सफलता पाएका छौँ,’ देउवाले भने, ‘त्यसैले आउँदा दिनहरूमा पनि सार्वभौमसत्ता सम्पन्न जनताको हितमा अब आउने चुनावमा जनताको समर्थन प्राप्त गर्नलाई पार्टीका सबै साथीहरूले त्यस काममा लागेर जनताको दिल जित्यौँ भने हामीले अवश्य पनि चुनाव जित्नेछौँ । जनताभन्दा ठूलो कोही छैनन् । उनीहरूको साथ, समर्थन लिनु आवश्यक छ ।’ 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १४:४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया