वर्षायाम सकिनै लाग्दासमेत भरिएन कुलेखानी जलाशाय

नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल तथा जलाशययुक्त जलविद्युत् आयोजना कुलेखानीमा पानीको सतह अघिल्लो वर्षको तुलनामा यस वर्ष कम देखिएको छ ।

अघिल्लो वर्षको यसै समयमा जलाशयमा समुद्र सतहबाट १ हजार ५ सय १९ मिटर उचाइसम्म पानी भरिएकोमा यस वर्ष १ हजार ५ सय ८ दशमलब ९१ मिटर मात्र पानी रहेको नेपाल विद्युत प्राधिकरण कुलेखानी प्रथम जलविद्युत केन्द्र मकवानपुरका प्रमुख धीरेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार अघिल्लो वर्ष असार महिनामै जलाधार क्षेत्रमा भारी वर्षा भएकाले जलाशयमा पानीको सतहमा उल्लेख्य वृद्धि भएको थियो । यसपालि जलाधार क्षेत्रमा अघिल्लो वर्षको जति पानी नपरेका कारण जलाशयमा पानीको सतह गत वर्षभन्दा कम भएको चौधरीको भनाइ छ । ‘अझै पनि एक दुई दिन धेरै पानी पर्यो भने भरिन्छ । पानी पर्ने समय अझै पनि बाँकी नै छ,’ चौधरीले भने ।

१ हजार ५ सय ३० मिटर उचाइसम्म पानी भण्डारण क्षमता भएको जलाशयमा अघिल्लो वर्ष असोजमा पानी बढी भएर खेर गएको थियो । जलाशयमा यस वर्ष गत वर्षको भन्दा पानीको सतह करिब १० मिटर कम रहेको छ । बर्षा अवधि बाँकी नै रहेकाले असोजसम्म जलाशयमा पानी भरिने सम्भावना रहेको बताउँदै उनले भने, ‘अन्य हाइड्रोपावरहरूमा पानीको बहाव घटेमा मेसिन बन्द हुने र सञ्चालनमा आउन समस्या हुने भएकाले आवश्यक परेको खण्डमा यो आयोजना सञ्चालन गर्ने गरिएको छ । १० मिटर भनेको त्यति धेरै नै कम भन्न त मिल्दैन । तर अघिल्लो बर्षको तुलनामा यो बर्ष पानी भरिएको भने छैन । 

देशकै एक मात्र जलाशययुक्त जलविद्युत् आयोजना भएकाले कुलेखानीलाई अन्य आयोजनाको ब्याकअपको रूपमा प्रयोग गर्ने गरिएको छ । जलाशयमा जम्मा भएको पानीलाई प्रयोग गरेर तीनवटा आयोजनाबाट कूल १ सय ६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १४:१०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया