राष्ट्रपतिको प्रश्न - २०३२ सालको अंगीकृत नागरिकतासम्बन्धी व्यवस्था किन लामो समय कायम रहेन ?
फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा पठाएकी छन् । 

उक्त विधेयकमा रहेको विदेशी महिलाले तुरुन्तै नागरिकता पाउने प्रावधानबारे विरोध भइरहेका बेला राष्ट्रपति भण्डारीले आइतबार पुनर्विचार गर्न उक्त विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् । फिर्ता पठाउने क्रममा उनले विगतका व्यवस्थालाई पनि स्मरण गराएकी छन् । सो क्रममा २०३२ सालमा लागू भएको अंगीकृत नागरिकताको प्रावधान लामो समय टिक्न किन सकेन भनेर उनले प्रश्न गर्दै अध्ययन आवश्यक रहेको बताएकी छन् । 

२०३२ सालमा लागु भएको अंगीकृत नागरिकताको व्यवस्था लामो समय कायम रहन नसकेको देखिनुका  के कस्ता कारणहरू थिए भन्ने पर्याप्त अध्ययन आवश्यक रहेकोमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको ध्यानाकर्षण गराएकी छन् । 

प्रतिनिधिसभालाई पठाएको पत्रको प्रतिनिधिसभामार्फत संसदसमक्ष ध्यानाकर्षण सन्देशको बुँदा नम्बर ३ मा लेखिएको छ, ‘अंगीकृत नागरिकताकै सन्दर्भमा विक्रम सम्वत् २०३२ सालमा लागू गरिएको व्यवस्था लामो समयसम्म कायम रहन नसकेको देखिनुका पछाडि के कस्ता कारणहरू विद्यमान थिए भन्ने पर्याप्त अध्ययन भएको खण्डमा त्यसले प्रस्तुत विधेयकलाई र भविष्यमा हुने नागरिकतासम्बन्धी कानुनी सुधारका प्रयासलाई समेत ठूलो मद्दत गर्ने देखिन्छ । यसतर्फ सम्मानित संसदको यथेष्ट ध्यानाकर्षण हुन आवश्यक छ । नेपाल सरकारका सम्बद्ध निकायहरूले समेत यसबारे खोज अनुसन्धान गरी व्यवस्थापिकालाई सहयोग गर्न सक्ने अवस्था रहेको तर्फ पनि उत्तिकै ध्यान आकृष्ट हुन आवश्यक देखिन्छ ।’ 

२०३२ सालको व्यवस्थामा नेपाली उत्पत्तिको व्यक्तिको हकमा दुई वर्ष, नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएको विदेशी महिलाको हकमा कम्तीमा पाँच वर्ष र सो बाहेक अरूको हकमा कम्तीमा पन्ध्र वर्षको अवधिसम्म नेपालमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था रहेको थियो । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचार गर्न राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा पठाएको पत्रमै २०३२ सालको व्यवस्थाबारे उल्लेख गरिएको छ ।  





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १६:४०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया