पाँचदलीय सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले नेतृत्वलाई प्रतिवेदन तयार गरेको छ ।
सत्ता गठबन्धन कार्यदलले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटको मापदण्डसहितको प्रतिवेदन शीर्ष तहमा बुझाउन लागेको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको कार्यदल बैठकले मापदण्ड तय गरेको बैठकपछि नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड २०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मत हुने उनले जानकारी दिए ।
‘चाँडोभन्दा चाँडो गृहकार्य पूरा गर्ने पहल अगाडि बढाएका छौँ। बुधबार ४ बजे हामी केही निर्णय सार्वजनिक गर्छौं,’ उनले भने , ‘सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड ०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मत हुनेछ।’
एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले पहिलोपटक संघीय निर्वाचनमा भाग लिन लागेको भन्दै विशिष्ट रुपमा राखेर निर्णयमा पुग्ने भएको छ । कार्कीका अनुसार एकीकृत समाजवादीका लागि विशिष्ट रुपमा राखेर मापदण्ड तय गरेर अघि बढ्ने तयारीमा कार्यदल रहेको छ ।
कार्यदलमा गत निर्वाचनमा जितेको स्थानमा सम्बन्धित दलको दाबेदारी रहने व्यवस्था रहँदा एमालेले जितेको स्थानमा एकीकृत समाजवादीको दाबी रहने अवस्था बन्छ । तर, स्थानीय तह निर्वाचनमा प्राप्त मतमा एकीकृत समाजवादीको मत न्यून आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।