लगातार फिल्म फ्लप भएपछि राम र शिवको भरोसामा अक्षयको करियर

पहिला ‘बच्चन पाण्डे’, फेरि ‘सम्राट पृथ्वीराज’ र अहिले ‘रक्षा बन्धन’ । वर्ष २०२२ मा एकपछि अर्को लगातार तीन फिल्म फ्लप भएपछि अभिनेता अक्षय कुमार गिर्दो करियरलाई कसरी जोगाउने भन्ने तनावमा छन् । 

जबकि सन् २०२१ अगस्टदेखि यो अगस्ट सम्म हेर्दा ‘बेल बटम’समेत जोड्दा चौथो फ्लप हो । यो बीचमा उनको मल्टिस्टार फिल्म ‘सूर्यवंशी’ले मात्र बक्स अफिसमा उत्सव मनायो । जसरी दर्शकको हिन्दी फिल्मलाई लिएर स्वाद फेरिएको छ र बलिउडमा ‘बहिस्कार’को अभियान चलेको छ, त्यसले तमाम कलाकार र निर्देशकलाई चिन्तित बनाएको छ । 

अक्षय आफैंलाई पनि उनको ‘रक्षा बन्धन’ पनि फ्लपको सूचीमा पर्छ भन्ने विश्वास थिएन । फिल्मको प्रमोसनका लागि अक्षयले कुनै कसर बाँकी राखेका थिएनन् । उनी सहर–सहर घुमे पनि गत बिहीबार रिलिज भएको फिल्मले मंगलबारसम्म मात्र ३५ करोड १५ लाख रुपैयाँको कारोबार गरेको छ । रोचक कुरा त के छ भने यो वर्ष अक्षयको फ्लप ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ भन्दा पनि ‘रक्षा बन्धन’ ओपनिङ खराब रह्यो ।

अक्षयको लागि बक्स अफिसमा अवस्था जति नै खराब भए पनि यो वर्षका बाँकी महिना र सन् २०२३ को १२ महिना ‘हिट’ हुने अवसर बाँकी नै छ । यो समयमा उनका दुई फिल्म ‘राम सेतु’ र ‘ओ माई गड २’ रिलिज हुँदै छन्, जसको सिधा सम्बन्ध भारतीय संस्कृति र धर्मसँग छ । यो फिल्मको कथा दर्शकले मन पराए भने निश्चित रूपमा अक्षय फेरि पुरानो शक्तिका साथ बक्स अफिसमा उभिन सक्नेछन् ।

‘राम सेतु’ एक्सन एडभेञ्चर फिल्म हो । जसमा उनले यस्तो पुरातत्त्व विज्ञको भूमिका निभाएका छन्, जो रामायणमा भनिएको राम सेतुको खोजी गर्छन् । फिल्म दिपावलीको मौकामा २४ अक्टोबरमा रिलिज हुँदै छ ।

भगवान् रामपछि अक्षयलाई ‘ओ माई गड २’ मा भगवान् शिवको सहारा मिल्नेछ । फिल्ममा उनी भगवान् शिवको भूमिकामा देखिँदै छन् । सन् २०१२ मा रिलिज कमेडी डामा ‘ओ माई गड’ मा उनी भगवान् कृष्ण बनेका थिए । फिल्म महाशिवरात्रिको अवसर पारेर सन् २०२३ मा रिलिज हुने सम्भावना छ ।  





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार ११:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया