आर्यनको फिल्म ‘सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीबार भारतको मुम्बईमा सम्झौता भएको छ । 

निर्माण कम्पनी डिबिआर मिडिया एन्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँताका फिल्म छायांकन हुने बताए । 

‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुसी मिलेको छ,’ मुम्बईमा रहेका निर्माता रघुले भने ।

निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताए । ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ,’ निर्देशक देसाईले भने । आफू अहिलेसम्म नेपाल नआए पनि नेपाली जीवनशैलीसँग परिचित रहेको उनले प्रतिक्रिया दिए ।

निर्देशक देसाईले वीरगति र ढोलकी नामक फिल्म निर्देशन गरिसकेका छन् । यस्तै, उनले ‘कामिनी दामिनी’ नामका टिभी सिरियलसमेत निर्देशन गरे । उनले धेरै फिल्ममा अभिनय समेत गरेका छन् । उनले अमर प्रेममार्फत अभिनय यात्रा सन् १९७२ मा सुरु गरेका थिए । 

फिल्ममा अभिनेताको रुपमा आर्यन सिग्देल केही दिनअगाडि मात्र अनुबन्धित भइसकेका छन् । नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनको बलियो कमब्याकको रुपमा ‘सायरा’ हुनेछ । फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ ।



पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन् । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए । 

उनले फिल्मको अन्य कास्ट एन्ड क्रिउको बारेमा केही समयमै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘हामीले लाइन अप पूरा भएपछि पूर्ण रूपमा जानकारी दिनेछौँ,’ प्रस्तुतकर्ता रघुले बताए । 



उनले फिल्मको कथावस्तुअनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । फिल्मको अधिकांश छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केही प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए ।

  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १७:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया