पाएको जिम्मेवारीलाई सदुपयोग गर्छु : प्रशिक्षक हुमागाईं

बंगलादेशबिरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक प्रदीप हुमागाईंले एन्फाले उपलब्ध गराएको जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने बताएका छन् । 

उनले आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिबद्धता जनाएका हुन् । 

सातोदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको पत्रकार सम्मेलनमा हुमागाईंले आफ्नो लागि नेपाली टोली सम्हाल्ने एक अवसर भएको भन्दै सुखद् नतिजाको लक्ष्य लिएको बताए । 

तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका हुमागाईंले मैत्रीपूर्ण खेलका लागि ४० सदस्यीय टोलीको नाम सार्वजनिक गर्दा विवादबाट बाहिरिएका १० खेलाडीलाई पनि समेटेका छन् । पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भएअनुसार हुमागाईंले उनीहरुलाई स्थान दिएका हुन् । 

बंगलादेशसँगको खेलमा जितका लागि कर्मभूमि छोडेर जन्मभूमि आएको बताउँदै प्रशिक्षक हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीच रहेको विवादको बारेमा आपूm बोल्न आवश्यक नरहेको बताए । आफ्ना लागि सबै खेलाडी समान रहेको बताउँदै उनले छिट्टै सानो आकारको टोली सार्वजनिक गर्ने समेत बताए । 

बोलाइएका खेलाडी आजबाट एन्फामा उपस्थित हुन थालेका छन् । प्रशिक्षक हुमागाईंले शुक्रबारबाट अभ्यास गराउने बताएका छन् । एएफसी ‘ए’ लाइसेन्स गरेका प्रशिक्षक हुमागाईंलाई नियुक्त गरेको विषयमा भने एन्फा प्रवक्ता सुरेश साहले प्रक्रियाबाटै नियुक्त गरेको बताए । 



एन्फाले मुख्य प्रशिक्षक बिदामा भएको अवस्थामा अन्तरिम प्रशिक्षकको रुपमा हुमागाईंलाई नियुक्त गरेको हो । प्रवक्ता सुरेश साहले मुख्य प्रशिक्षक अल्मुताइरीको विषय समाधानका लागि एन्फा प्रक्रियामा रहेको बताए । 

हुमागाईंको प्रशिक्षणमा नेपालले आगामी असोज ११ गते घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । अमेरिका बस्दै आएका हुमागार्इं नेपाली टोलीको जिम्मेवारी हेर्नका लागि बुधबार मात्र नेपाल आइपगेका हुन् ।



  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १९:१६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया