बलात्कार आरोपमा पक्राउ परेका दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता भएको छ । बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षक विराटनगर–३ का ५० वर्षीय विनोद राउत र विराटनगर–४ का सुरज सुवेदीविरुद्ध मुद्दा दायर गरेको हो ।
सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध सामूहिक जबरजस्ती करणी मुद्दा दायर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार अदालतमा सो मुद्दाको प्रक्रिया आइतबारदेखि अघि बढ्ने छ । ‘आइतबार गोला हुन्छ त्यसपछि बयान हुन्छ र थुनछेक बहस हुन्छ ।’ उनले भने ।
विराटनगरको एक होटलमा लगेर १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई साउन ८ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका राउत राष्ट्रिय खेलकुद परिषद् मोरङको कराँते प्रशिक्षक हुन् । सुवेदी संखुवासभाको कराँते प्रशिक्षक रहेको जनाइएको छ ।
विराट हेल्थ कलेज अनुशासन विभागका प्रमुखसमेत रहेका सुवेदीले छात्रालाई पटक–पटक बलात्कार गरेको आरोप छ । होटलमा बोलाएर किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका प्रशिक्षकद्वयले किशोरीको भिडियोसमेत बनाएको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।