सशस्त्र प्रहरी बल दार्चुलाका एसपी त्रिभुवन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ ।
दार्चुलास्थित ४४ नम्बर गणका गणपति एसपी विष्टलाई शुक्रबारबाट जिम्मेवारीबाट हटाइएको हो ।
आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा अनियमितता गरेको आरोप लागेका एसपी विष्टको जिम्मेवारी खोसिएको हो ।
सशस्त्र प्रहरीका अनुसार एसपी विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको छ ।
कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिने प्रावधान छ ।
तर, ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले रासनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गणमा २५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर अनियमितता गरेको आरोप छ ।
रासनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोतम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो ।
समितिले एसपी विष्टलाई विभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानेर जिम्मेवारीबाट हटाइएको हो ।
यसअघि एसपी विष्टले रासनमा घोटालासम्बन्धी सूचना चुहाएको आरोपमा वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि कारबाही अगाडि बढाइएको थियो।
हाल उनी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन् । साहुमाथि संगठनका गोप्य सूचना मिडियालाई लिक गराएको आरोप लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।