राजसंस्था, हिन्दूराष्ट्र र संघीय प्रणाली खारेजी हाम्रो मुद्दा हो, अरुले दाबी गर्न मिल्दैन : कमल थापा

राप्रपा नेपालले महँगी, भ्रष्टाचार, लुटतन्त्र र बेरोजगारीको अन्त्यको जोडदार माग गर्दै ललितपुरमा जुलुस प्रदर्शन गरेको छ । ललितपुर जिल्ला कार्य समितिको आयोजनामा शनिबार लगनखेलबाट निकालिएको जुलुस जावलाखेलमा पुगेर आमसभामा परिणत भएको थियो । 

जुलुसपछिको आमसभालाई अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले हिन्दू राष्ट्र राजसंस्थाको एजेन्डा आफूहरुको भएकाले अरुले दाबी गर्न नमिल्ने बताए । 

‘राप्रपा नेपालका २५ सदस्यले संविधानसभामा जोडबल गरेर अपरिवर्तनीय संविधानको प्रारम्भिक मस्यौदालाई परिमार्जन गराई संविधानभित्रैबाट राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको बाटो र ३ तहको संघीय प्रणालीको खारेजी गर्ने संवैधानिक मार्गप्रशस्त गराएको हो,’ उनले भने, ‘यसका लागि हामीबाहेक अरू कसैको दाबी गर्ने आधार छैन ।’ 

संविधानलाई परिवर्तनीय गराउने महत्वपूर्ण काम राप्रपा नेपालले गराएको हो भन्दै अध्यक्ष थापाले आउँदो चुनावमा राप्रपा नेपालका उम्मेदवारहरूलाई मत दिन ललितपुरका जनसाधारणलाई आग्रह गरे । 

जिल्लाका कावा अध्यक्ष डिपी दाहालको सभापतित्वमा भएको सो जनसभामा पार्टीका केन्द्रीय उपाध्यक्ष श्यामप्रसाद तिमिल्सिनाले आउँदो संघीय संसद र प्रदेशसभाका सबै क्षेत्रमा राप्रपा नेपालले उम्मेदवार उठाउने उद्घोष गरे । 

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङ, महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, ललितपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय महामन्त्री भाष्कर भद्रा, केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्य, राप्रपा प्रदेश प्रमुख माधव खत्रीलगायत अन्य केन्द्रीय तथा प्रदेश एवं जिल्लास्तरीय पदाधिकारीको उपस्थित थिए ।



राप्रपा नेपाल गत ०७८ फागुन ७ गते पुनजागृत भएपछि आज भएको कार्यक्रम पार्टीको ललितपुर जिल्लामा आयोजित पहिलो सार्वजनिक सभा हो । जुलुसमा उल्लेख्य स्थानीय जनताको सहभागिता रहेको थियो ।



  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार १८:२७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया