जनकपुर न्यूरो हस्पिटलमा पहिलोपटक ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया

जनकपुरधाममा पहिलोपटक ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया गरिएको छ । जनकपुरधाम–४ मुरली चोकस्थित जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले न्यून खर्चमा सो शल्यक्रिया गर्न सफल भएको हो ।

६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी ६० वर्षीया देवसुनर देवीको अस्पतालका सञ्चालकसमेत रहेका न्यूरो सर्जन डा. विजयकुमार राउतलगायत चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको हो ।

ब्रेन ट्युमरको काठमाडौंलगायतका स्थानमा उपचार गर्दा ४ लाखसम्म खर्च लाग्ने भए पनि जनकपुर न्यूरो हस्पिटलले उनको शल्यक्रिया न्यून शुल्कमा गरेको डाक्टर राउतले जानकारी दिए । उनका अनसार देवसुनर देवीको मस्तिष्कको बीच भागमा रहेको पाँच सेन्टिमिटर ठूलो ट्युमरलाई ८ घण्टाको कठिन शल्यक्रियापछि झिक्न सफल भइएको हो ।

देवसुनरले पनि पहिले शरीरको दाहिने भाग नचल्ने भए पनि शल्यक्रियापछि चल्न थालेको बताइन् । उनले आफूले शल्यक्रिया गराउँदा बाँच्नै नसक्ने डर रहेको अवस्थामा डाक्टर राउतलगायतका टिमले आफ्नो सफल शल्यक्रिया गरी ज्यान बँचाएकोमा धन्यवादसमेत दिइन् । 

डाक्टर राउतले अस्पताल सञ्चालन गरेको तिन महिनाको अवधिमा यहाँ कार्यरत २५ जना चिकित्सकको टिमले करिव १४/१५ जना बिरामीको सफल शल्यक्रिया गरेको बताए । 



उनले रोगलाई लुकाएर नराख्न आग्रह गर्दै आफ्नो अस्पतालले गरीब, विपन्न बिरामीको सेवामा कदापी पछाडि नहट्ने प्रतिबद्धतासमेत व्यक्त गरे । यसअघि पनि डाक्टर राउतले गम्भीर प्रकृतिका बिरामी महोत्तरीको बलबा नगरपालिका–४ पडौलस्थान बस्ने परशुराम यादवका २२ वर्षीय छोरा अनितेशकुमार यादवको सफल शल्यक्रिया गरेका थिए । 



जनकपुर न्यूरो हस्पिटल न्यूरोसम्बन्धी पहिलो हस्पिटल रहेको छ । यस अस्पतालले शरीरका विभिन्न भागको प्लास्टिक एवं कस्मेटिक सर्जरीलगायत अन्य सर्जन तथा रोगहरूको उपचार सेवा पुर्याउँदै आएको छ । 

  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १३:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया