गण्डकी प्रदेशमा जीवनस्तर सुधारमा प्राथमिकता दिइएकाे मुख्यमन्त्रीकाे दाबी

म्याग्दी– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृिद्ध गरी जनताको जीवनस्तर सुधारमा प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन् । 

धौलागिरि गाउँपालिकाको पाँचौं गाउँसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्नु नै सरकारको मुख्य प्राथमिकता रहेको बताए । 

‘पर्यटन, जलविद्युत्, कृषि र उद्यमको विकास गरी जनताको आम्दानी वृिद्ध गराउनु गण्डकी प्रदेशको लक्ष्य हो,’ मुख्यमन्त्री गुरुङले भने, ‘खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विद्युत् सेवामा आमनागरिकको पहुँच वृद्धिमा जोड दिएका छौं ।’ 

मुख्यमन्त्री गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन सिकार आरक्षको बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धौलागिरि संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने प्रस्ताव गरे । 

सबै गाउँपालिकाको केन्द्रमा सडक, सबै घरमा विद्युत्, स्वच्छ खानेपानी, स्थानीय तहका केन्द्रमा सभाहल र स्वास्थ्यचौकी भवन निर्माण गरिने मुख्यमन्त्री गुरुङले जानकारी गराए । 

सो अवसरमा प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले स्थानीय तहसँग सहकार्य गरेर वन पैदावारको संरक्षण र उपयोगसँगै आयआर्जन वृद्धि, पर्यटन विकासमा जोड दिएको बताए । धौलागिरि गाउँपालिकामा पर्यटन सूचना केन्द्र स्थापना, पदमार्गको विस्तार र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा प्राथमिकता दिने पनि उनले जानकारी दिए । 



धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संसारको साताैं अग्लो धौलागिरि, गुर्जालगायत हिमाल, ढोरपाटन सिकार आरक्ष अवस्थित धौलागिरि गाउँपालिकाको सडक, विद्युत्, भवन, शिक्षा, सञ्चारलगायत पूर्वाधारका क्षेत्रमा सघाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भौगोलिक हिसाबले विकट र दुर्गम भए पनि धौलागिरि गाउँपालिका पर्यटन, जलविद्युत्, जडीबुटीका हिसाबले प्रशस्त सम्भावना बोकेको बताए । उनले विपद् व्यवस्थापनका लागि म्याग्दीमा एक वडा एक हेलिप्याड निर्माण अभियान सञ्चालन गरिएको जानकारी दिए । 



उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत–साधनको परिचालन गरी विकास र समृद्धिमा रूपान्तरण गराउन आवश्यक ऐन–कानुन छिटो बनाउन प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका थिए । 
 

  • प्रकाशित मिति : माघ १३, २०७५ आइतबार १५:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया