मानवअधिकार आयोगले बनाएको छानबिन समितिको प्रतिवेदन
निर्मलाको भजाइनल स्वाब संकलन नै त्रुटिपूर्ण, डिएनए टेस्टबाट अपराधी यकिन नहुने

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको शवबाट गरिएको ‘भजाइनल स्वाब संकलन’ नै त्रुटिपूर्ण भएको राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । आयाेगले सरकारलाई बुझाएकाे प्रतिवेदनअनुसार सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरेको भेटिएको छ, जुन त्रुटिपूर्ण छ ।

‘यसरी संकलन गरी टेस्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुनसक्ने, परिणाम सही नआउनेजस्ता समस्या पाइयो,’ समितिको प्रतिवेदनमा प्रतिवेदनमा उल्लेख छ, ‘मूलतः नमुनाहरु संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’

पूर्वमहान्यायाधीवक्ता नरेन्द्र पाठक नेतृत्वको छानबिन समितिले संकलित स्वाबको परीक्षणमा समेत थुप्रै प्रश्न उठाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाको शवबाट संकलित लो, मिड र हाइ भजाइनल स्वाबको नमुना केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले वाई एसटिआर प्रविधिबाट डिएनए परीक्षण गरेको छ । यसले वंश पहिचान गर्न सघाए पनि व्यक्ति पहिचान गर्न नसक्ने समितिको ठहर छ ।

यसका अतिरिक्त, पुरुष र महिला वीर्य अलग गरेर परीक्षण गर्नुपर्नेमा मिश्रित रुपमैै परीक्षण गरेको पाइएको छ । यसो गर्दा वंश छुट्याउने वाई एसटिआर परीक्षण मात्र सम्भव भएको र व्यक्ति पहिचान गर्ने अटोसोमल परीक्षण सम्भव नभएएको प्रतिवेदनमा उल्लेख छ ।

परीक्षणका क्रममा तीनवटै भजाइनल स्वाबमा पुरुष डिएनए फरकफरक मात्रमा पाइएको, तर कुल डिएनएको तुलनामा पुरुष डिएनए अत्ध्यधिक कम पाइएको छ । यसले सही परिणाम आउन नसक्ने समितिको ठहर छ ।

समितिको रिपोर्टका आधारमा मानवअधिकार आयोगले सरकारलाई चारबुँदे निर्देशन दिएको छ । नमुना संकलनमा लापरबाही गर्ने चिकित्सक, डिएनए टेस्टमा त्रुटि गर्ने प्राविधिकहरुलाई समेत छानबिनको दायरामा ल्याउन आयोगको निर्देशन छ ।



डिएनए टेस्टबाट अपराधी पत्ता लाग्ने सम्भावना कम रहेको भन्दै आयोगले ‘ह्युमन इन्टिलिजेन्स’ प्रहरीमार्फत प्रभावकारी र नतिजामूलक अनुसन्धान गर्न सरकारलाई निर्देश गरेको छ । 



  • प्रकाशित मिति : माघ १३, २०७५ आइतबार २०:२९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया