टीकापुर घटनाका बन्दीलाई रिहा गर्न माग

टीकापुर घटनाका सम्पूर्ण बन्दीलाई रिहाइ गर्न माग गरिएको छ । ०७२ भदौ ७ गते टीकापुरमा घटना भएको दिनलाई विद्रोह दिवसको रुपमा मनाउन आयोजित समारोहका अधिकांश वक्ताले यस्तो माग गरेका हुन् ।

सो घटना राजनीतिक घटना भएको दाबी गर्दै उनीहरुले सांसद् रेशम चौधरी लगायत बन्दीहरुको रिहाइको माग गरेका हुन् ।  थारु समुदायले राजनीतिक माग राखी गरेको आन्दोलनमा भएको घटनालाई लिएर आन्दोलनमा संलग्न व्यक्तिलाई जेल सजाय गरेकोप्रति उनीहरुले विरोध जनाए । 

०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेशम चौधरी विजयी भए पनि पाँच वर्षदेखि कैलालीको निर्वाचन क्षेत्र नं१ संघीय जनप्रतिनिधिविहीन छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले टीकापुर घटनाको क्षतिपूर्तिको रुपमा आगामी निर्वाचनमा टीकापुर क्षेत्रमा सबै राजनीतिक दलले थारु उम्मेदवार दिनुपर्ने बताए । उनले संविधानले दिएको अधिकारहरु कार्यान्वयन गर्दै सबै क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।

यस्तै, थरुहट÷थारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारिणी सभालगायतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका मेयर एवं नागरिक उन्मुक्तिका नेता रामलाल डंगौरा थारुले भने, ‘विकास, समृद्धि र सदभावको लागि तत्काल टीकापुर घटनाको अभियोगमा थुनिएका बन्दीहरुलाई तत्काल रिहा गरिनुपर्छ । उहाँहरुको रिहाइपछि टीकापुरमा कहिलै पनि सदभाव बिग्रने छैन ।’

आसन्न निर्वाचनअगाडि नै जेलबन्दीलाई रिहा गरी सामाजिक सद्भावको वातावरण राज्यले सिर्जना गर्नुपर्ने समेत मेयर थारुको माग थियो । 



कैलालीका सबै स्थानीय तहहरुले टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरी सो घटनाका अभियोग लागेका व्यक्तिहरुको रिहाइ गर्न पहल गर्नुपर्ने लम्की चुहा नगरपालिकाकी मेयर सुशीला शाहीले बताइन् ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीले टीकापुर घटनाको निकासको लागि टीकापुर घटना छानविनको लागि तयार पारिएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए । सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिँदा थारुलगायत उत्पीडित समुदायमाथि अन्याय भएको उनको भनाइ थियो ।



त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले आयोजित कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका मेयर केवल चौधरीले अधिकार प्राप्तीको राजनीतिक आन्दोलनमा राज्यले दमन गर्दा टीकापुर घटना घट्न पुगेको बताउँदै उनले यहाँको विकाको लागि राज्यले टीकापुर घटना सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गरे ।

थरुहट नेता लक्ष्मण थारुले हालसम्म राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलनको रुपमा लिएको बताउँदै अब हुने चुनावलाई नै आन्दोलनको रुपमा लैजान आह्वान गरे । टीकापुर विद्रोहको जगमा नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै नेता थारुले भने, ‘सरकारले हालसम्म हाम्रो मुद्दाप्रति सकारात्मक छैन । तर आमजनताको एउटै माग छ, टीकापुर घटना राजनीतिक हो, राजनीतिक ढंगले सम्बोधन गर्नुको विकल्प छैन ।’ उनले जनताले आफ्नो मतमार्फत सरकारलाई सन्देश दिँदै आएको बताए ।
  
संविधान लेखनका क्रममा ०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीचको झडपमा  ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।

घटना भएको दोस्रो दिन बिहान कर्फ्यु जारी भएको समयमा ८० बढी थारु समुदायको घर, पसल, एफएम लगायतमा आगजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरीसहित नेता–कार्यकर्ता जेल सजाय भोग्दै आएका छन् ।

  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार १८:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया