एमालेमै फर्कंदै सुदूरपश्चिम समाजवादीका तीन नेता

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका तीन नेता एमालेमै फर्कने तयारी गरेका छन् । स्रोतका अनुसार पूर्वप्रदेश मन्त्री तारा लामा तामाङ, पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष विक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्द एमाले फर्कने तयारी गरेका हुन् । 

एकीकृत समाजवादी डडेल्धुराले पार्टी पुनर्गठन दिवस मनाइरहेको अवस्थामा तीन नेताले एमालेमै फर्किने निर्णयमा पुगेका हुन् । एमालेबाट विद्रोह गरेर पार्टी खोलेका माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँगै सहकार्य गरी अघि बढ्ने योजना बनाएपछि नेकपा एसमा असन्तुष्टि चुलिएको छ । 

सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका तामाङले एमालेमा फर्किने तयारी थालेको बताए । ‘अब मूल घर एमालेमै फर्कने हो, माओवादीमा विलय गराउने पार्टीमा एमालेबाट विद्रोह गरेर गएको भनिएका सवै साथीहरू एमालेमै फर्किनुहुन्छ, हामी पनि त्यही निर्णयमा पुग्यौं,’ उनले भने ।

पूर्वप्रदेश अध्यक्ष शाहीले पुनर्गठनको नाममा माधवलाई साथ दिएर आत्मग्लानि भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

 ‘२०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिए । पार्टी विभाजनले काँग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई नै फाइदा पुर्‍यायो । त्यसबापत पछुतो र आत्मग्लानि भएको छ । विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिए भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु,’ शाहीले बिहीबार बिहानै फेसबुकमा लेखेका छन् ।  





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १३:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया