जल उपयोग यात्रामा सुर्खेतको बराहताल गाउँपालिका

जलस्रोतहरूको क्षमता गत रूपमा पालिकामा प्रति सेकेन्ड १० लिटर स्रोत क्षमता भएको ३१ वटा जलस्रोत छन् । एक लिटर क्षमताका एक सय नौ जलस्रोत पालिकामा छन् । पालिकामै जल स्रोतको आवश्यक क्षमता पुष्टि भएपछि भने बराहताल गाउँपालिका जल उपयोग गुरुयोजनाका साथ अघि बढ्ने भएको छ ।

बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी भन्छन्, ‘जल उपयोग सँगै यससँग जोडिएका अन्य क्षेत्रको समेत विकास गर्दै जाने स्वरूप गुरुयोजना तयार भएको छ ।’

बराहताल गाउँपालिकामा पाँच सय ४४ वटा जलस्रोतहरू छन् । पालिका भर तीन सय ६० वटाको सङ्ख्यामा पानीका मुहान मात्र छन् । ८८ वटा खोल्सा, ७४ वटा खोला, १४ वटा कुवा र आठ वटा भूमिगत पानीको स्रोत पालिका अन्तर्गत रहेका छन् ।

जल उपयोग सँगै यससँग जोडिएका सिँचाई, ऊर्जा पर्यावरण संरक्षण तथा आयआर्जन/जीविकोपार्जन कार्यक्रमहरू पालिकाले क्रमैसँग लैजाने योजना छ । पालिकाका लागि जल उपयोग गुरुयोजना निर्माणमा वातावरण र जनस्वास्थ्य स्वास्थ्य संस्थाले सहयोग गरेको हो । 

संस्थाका परियोजना संयोजक अनिल महर्जनले भने, ‘बराहताल गाउँपालिकाका लागि जलस्रोत सम्बन्धित पञ्चवर्षीय योजना तर्जुमा गर्न सघाउका लागि गुरुयोजना निर्माण गरिएको हो । यस गुरुयोजनाले योजना तर्जुमा, दियो मर्मत सम्भार तथा सञ्चालन व्यवस्थापन कार्य योजना, पूर्ण सरसफाइ युक्त क्षेत्र निर्माण, दक्ष जनशक्तिको विकासलगायत सरोकारवाला पक्षहरूको समान बुझाई एवं प्रतिबद्धताका लागि गुरुयोजनाले मदत गर्नेछ ।’

पालिकामा हाल दुई सय चार वटा खानेपानी योजनाहरू लागु छन् । यी योजनाहरू मध्य ४५ पुनः निर्माण, ३९ वटामा सामान्य मर्मत र ८० वटा योजनाहरू मा ठुलो मर्मतको आवश्यकता छ । कुल खानेपानी योजनाहरु मध्य ४० वटा योजना मात्र राम्रोसँग सञ्चालनमा रहेको महर्जनले बताए ।



यसै गरी पालिकामा एक वटा लघु सिँचाइ र एक सय ५१ वटा कुलो सिँचाई योजना छन् । जसबाट पालिकाको १९ हजार दुई सय १७ रोपनी क्षेत्रफलमा सिँचाई सुविधा पुग्दछ । यी योजनाहरू मध्य हाल १५ वटा मात्र राम्रोसँग सञ्चालनमा रहेका छन् । ६२ वटा योजनालाई पुनः निर्माणको आवश्यकता छ ।

जल ऊर्जाका क्षेत्रमा परम्परागत/सुधारिएको पानी घट्ट योजना अन्तर्गत पालिका भर ४७ योजना छन् । जसबाट कुल तीन हजार ६ सय ४७ घरधुरी लाभान्वित हुन्छन् । तर यी योजना मध्य १४ वटा योजना मात्र सञ्चालनमा रहेको देखिन्छ ।



जल उपयोग गुरुयोजना प्रक्रिया मार्फत पहिचान र प्राथमिकतामा पेका अन्य योजनाहरुलाई तत्पश्चात् आवश्यकता र स्रोतको उपलब्धताको आधारमा दीर्घकालीन योजनाका रूपमा गुरुयोजनामा समावेश छ । पाँच वर्षीय योजनामा परेका खानेपानी, सिँचाई, वातावरण पर्यावरण तथा जल ऊर्जा सम्बन्धी कुल एक सय ९२ योजनाहरुको कुल अनुमानित लागत ६१ करोड ११ लाख ४३ हजार नौ सय २० रुपैयाँ छ ।

पञ्चवर्षीय योजना अवधिमा ५० वटा खानेपानी योजना तथा सरसफाइ स्वच्छता कार्यहरू समेतका लागि ३६ करोड १६ लाख २२ हजार चार सय २० रुपैयाँ लागत अनुमान छ । यी योजनाहरूबाट पालिकामा कुल चार हजार दुई सय ७२ घरधुरी लाभान्वित हुने अपेक्षा छ । यसका साथै सिँचाई अन्तर्गतका ६० सिँचाई कुलो र ४० वटा थोपा सिँचाइ निर्माणका लागि २० करोड ९७ लाख ९५ हजार पाँच सय रुपैयाँ लागत लाग्ने र यी योजनाहरू बाट २७ हजार नौ सय ७५ रोपनी जग्गा सिञ्चित हुने अनुमान गरिएको छ ।

२०८३/०८४ सम्ममा पालिकाले खानेपानी का ५०, कुलो सिँचाइका ६०, थोपा सिँचाइका ४०, जल ऊर्जाका १७ र वातावरण पर्यावरणका २५ गरी कुल एक सय ९२ योजनाहरू कार्यान्वयनमा ल्याउने योजना छ । वार्षिक बजेटमा गुरुयोजना बमोजिमका योजनाहरू मा लगानी गरे पनि पालिकाको आर्थिक अवस्थाले भने यी सबै योजनाहरूमा लगानीको सामर्थ्य राख्दैन । यसका लागि पालिकाले विकास साझेदार संस्थाहरूसँग सहकार्य गर्ने योजना गरेको बराहताल गाउँपालिकाका अध्यक्ष भण्डारी बताउँछन्  । उनले भने, ‘गुरुयोजना अनुरूप हामी मात्रैले त्यत्रो लगानी गर्न सक्ने अवस्था छैन । तर पालिकामा विकास साझेदार संस्थासँगको सहकार्यमा भने सम्भव छ । यसका लागि विभिन्न संघसंस्थासँग साझेदारीमा काम गर्ने योजना छ ।’

पालिकामा वडा स्तरीय योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको थियो । यसैका आधारमा गुरु योजनामा योजनाहरू प्राथमिकतामा परेका छन् । खानेपानी तथा सरसफाइ योजनाहरू मा ३२ वटा नयाँ र १८ वटा मर्मतका योजना छन् । यसबाट कुल ३० हजार ६ सय २२ जनसङ्ख्या लाभान्वित हुने अनुमान छ ।

सिँचाइ कुलोमा ६० योजना प्राथमिकतामा छन् । जस मध्य ६१ वटा नयाँ र नौ वटा पुराना मर्मतका योजना हुन् । यी योजनाहरूले १२ हजार नौ सय ३५ जनसङ्ख्या लाभान्वित हुने अनुमान छ । थोपा सिँचाइ तर्फ ४० योजना प्राथमिकतामा छन्, जसमा ६ हजार तीन सय १० जनसङ्ख्या लाभान्वित हुने अनुमान गरिएको छ । पर्यावरणीय तर्फका प्राथमिक करणका २५ योजनाबाट सात हजार तीन सय ९३ जनसङ्ख्या लाभान्वित हुनेछन् । यसै गरी जल ऊर्जालगायतका क्षेत्रमा प्राथमिकताका १७ योजनाबाट कुल पाँच हजार आठ सय ४५ जनसङ्ख्या लाभान्वित हुने अनुमान छ ।

  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार ११:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया