राष्ट्रपति ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी विपक्षमा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति अझ कमजोर हुने पनि बताएका छन् । 

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस र एनओआरसीले गरेको संयुक्त जनमत सर्वेक्षणमा सिरिया र सम्भवत अफगानिस्तानबाट अमेरिकी सेना हटाउने राष्ट्रपति ट्रम्पको योजनाका बारेमा पनि अमेरिकी समाज विभाजित देखिएको छ । 

समग्रमा, सर्वेक्षणमा सहभागीले राष्ट्रपति ट्रम्पले विदेश नीति सञ्चालनमा परिपक्वता नदेखाएको भन्दै न्यून अङ्क दिएका छन् । सहभागीमध्ये ३५ प्रतिशतले राष्ट्रपतिका नीतिलाई समर्थन गरेका छन् भने ६३ प्रतिशतले अस्वीकार गरेका छन् । अरु विषय झैं, पक्षधरताको विषय निकै रोचक देखिएको छ । रिपब्लिकन पार्टीसँग आबद्ध व्यक्तिहरुमध्ये ७६ प्रतिशतले राष्ट्रपति ट्रम्पका नीतिको समर्थन गरेका छन् जबकी ८ प्रतिशत डेमोक्र्याटले राष्ट्रपतिका कदमको समर्थन गरेका छन् । 

‘रसिया होस् वा उत्तर कोरिया, दुबै मुलुकसँगको सम्बन्धमा सुधार आउने सम्भावना कमै छ,’ कोलम्बियाकी ३० वर्षीया शिक्षिका समान्था फ्लावर्सले बताइन्। ‘साथै, छिमेकी मुलुकहरु खासगरी मेक्सिकोसँगको सम्बन्धमाथि पनि विचार गरौं न । ट्रम्पले समर्थन गरेपनि उनीहरु अमेरिकी मूल्यमान्यता विपरीत चलिरहेका छन्,’उनले बताइन् । 

उटाह राज्यको अग्डेनका ६५ वर्षीय ट्रक चालक रिचार्ड क्लिभल्यान्ड भने असहमति जनाउँछन्। उनी राष्ट्रपति ट्रम्पका नीति र विदेश नीतिको खुलेर समर्थन गर्छन् । ‘मेरो विचारमा राष्ट्रपतिले उत्तर कोरियासँगको सम्बन्ध सुधारका लागि राम्रो काम गरिरहेका छन् । उनले विगतमा कसैले गरेकोभन्दा राम्रो गरेका छन्,’ उनले भने ।

उनलाई सिंगापुरमा गतवर्ष राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ उनबीच वार्ता भएको राम्रैसँग थाहा छ । 

उनले उत्तर कोरियाले आणविक हातहतियार विसर्जन गर्नेतर्फ ठोस कार्य गर्नसके ठूलो उपलब्धि मान्न सकिने पनि बताए । 

विदेशी भूमिमा जारी युद्धमा अमेरिकी सेनाको उपस्थिति र सहभागिताका बारेमा पनि मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । करिब ३९ प्रतिशत अमेरिकीहरुले सिरियामा तैनाथ करिब २ हजार अमेरिकी सेना फिर्ता गर्नु ठीक रहेको बताएका छन् भने करिब ३५ प्रतिशतले यो कदम सही नभएको बताएका छन् ।

राष्ट्रपतिको कदमलाई ५६ प्रतिशत रिपब्लिकनले समर्थन गरेका छन् भने २६ प्रतिशत डेमोक्र्याटले मात्र राष्ट्रपतिको उक्त कदम ठीक भएको बताएका छन् । 

‘मेरो विचारमा इराक, अफगानिस्तान र सिरियाबा अमेरिकी सेना घर फर्किने अहिले उपयुक्त समय हो,’ क्लिभल्यान्डले बताए । ‘म भियतनाममा हुँदा पनि मैले मेरा थुप्रै असल साथीहरु गुमाएको थिएँ । मेरो विचारमा त्यो पनि मूर्खतापूर्ण युद्ध थियो ।’ 

गत महिना राष्ट्रपति ट्रम्पले सिरियामा रहेका इस्लामिक स्टेट समूहका लडाकूहरु परास्त भएको घोषणा गरेका थिए । उनले त्यहाँ तैनाथ सबै सेना तत्कालै फिर्ता गर्ने बताएका थिए । राष्ट्रपतिको उक्त घोषणाप्रति विमती जनाएर रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिए भने अमेरिकी गठबन्धनमा आबद्ध मुलुक र समूहहरुले चर्को आलोचना गरेका थिए । पछि, ट्रम्प र उनका सहयोगीले सेना फिर्तीको समयावधि परिवर्तन गरे । सिरियाबाट सबै अमेरिकी सेनालाई सुरक्षित रुपमा फिर्ता गर्न महिनौं लाग्ने बताइएको थियो । 

अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीका विषयमा पनि मतान्तर देखिएको छ । करिब ४१ प्रतिशत अमेरिकीले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता उपयुक्त रहेको बताएका छन् भने करिब ३० प्रतिशतले अस्वीकार गरेका छन् । 

‘हाम्रो सैनिक विश्वकै प्रहरीजस्तो हुनु ठीक होइन,’ टेनेसीको ब्रिस्टोल निवासी ४४ वर्षीय रोबर्ट ग्रान्गरले बताए । ‘हामीले अमेरिकी सेना सबै मुलुकबाट फिर्ता गर्नुपर्दछ ।’ 

करिब ४१ प्रतिशत डेमोक्र्याटहरु विश्वभर अमेरिकी भूमिका बढाउनुपर्ने पक्षमा देखिएका छन् भने २३ प्रतिशतले अमेरिकी भूमिका सामान्य सक्रिय मात्र हुनुपर्ने बताएका छन् । अरु करिब ३२ प्रतिशत डेमोक्र्याटले मुलुकको हालको भूमिका ठीकै रहेको बताएका छन् । 

रिपब्लिकन पार्टीसँग आबद्धहरुको विश्व दृष्टिकोण फरक छ । दशमध्ये चार जना रिपब्लिकनको भनाइमा विश्वका समस्या समाधानमा अमेरिकी भूमिका थोरै हुनुपर्दछ, जबकी ४६ प्रतिशतले विश्व मामिलामा हालको अमेरिकी भूमिका ठीक रहेको बताएका छन् । करिब १३ प्रतिशत रिपब्लिकनले विश्वमा अमेरिकी भूमिका अझ सक्रिय हुनुपर्ने जनाएका छन् । 

रिपब्लिकनहरुको सोचाइमा विश्वमा अमेरिकी उपस्थिति र अरु मुलुकसँगको सम्बन्ध अर्को वर्ष अझ सुधार हुनेछ । तर, डेमोक्र्याटको विचारमा अमेरिकाको साख अझ कमजोर हुनेछ ।





  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १३:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया