‘अनधिकृत संरचना हटाउने महानगरको अभियान हो, मेरो समर्थन छ’

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै यस्तो बताएकी हुन् । 

कानुन कार्यान्वयन गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउँदै उपमेयर डंगोलले काठमाडौं महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेन्डाप्रति सजग र सचेत रहेको पनि बताएकी छन् ।

यस्तो छ उनको अपिल 

अपिल
सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ ।

त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उप मेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु । काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेन्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु ।

तर, केही दिनदेखि मुख्य गरेर केही अनलाइन मिडियाहरूमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरबासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ । पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रूपमा लिइने गरिएको छ । पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरूलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन ।



यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिता प्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखि दिनुहुन अनुरोध गर्दछु ।



  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ११:५१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया