राष्ट्रियसभाले नागरिकता विधेयक पुनर्विचारका लागि विधान समितिमा पठायो
फाइल तस्वीर

राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । 

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा पेस गरेका थिए । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

आइतबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराएका थिए । राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको सो विधेयक २ भदौमा बसेको प्रतिनिधिसभाको बैठकले यथावत रूपमा पारित गरेको थियो ।

राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाका सचिव फुँयालले प्रतिनिधिसभाबाट उत्पत्ति भई सो सभाबाट पारित भएका बीमा विधेयक, २०७५, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू टेबुल गरे । 

त्यस्तै, राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाले संशोधनसहित फिर्ता पठाएको सन्देश पनि सभासमक्ष टेबुल गरे । 



त्यसैगरी उनले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका शपथसम्बन्धी विधेयक, २०७८, तथ्यांक विधेयक, २०७६, स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७६ र प्रत्यायन विधेयक, २०७६ हरूका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराए । 

बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्ताव गरेको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत पनि गरेको छ । राष्ट्रियसभाको अर्को बैठक १६ भदौ दिउँसो २ः५९ बजे बस्नेगरी बोलाइएको छ ।



  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १४:२१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया