प्रेमगीत ३ बारे के भन्छन् भुवन केसी, सुनिल थापा र शिव श्रेष्ठ ?
फाइल तस्वीर

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा नपुगेसम्म नेपालको कला र संस्कृतिको विकास गर्न नसकिने बताएका छन् । आइतबार चलचित्र विकास बोर्डले नेपाली चलचित्र प्रेमगीत ३ लाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष केसीले नेपाल चलचित्र विकास बोर्डले चलचित्रलाई विश्वव्यापी रूपमा प्रदर्शनमा ल्याउन गर्नसक्ने जति काम गर्ने प्रतिवद्धता जनाए । उनले नेपाली भाषी चलचित्रलाई नेपाली सिने हलमा पहिलो प्राथमिकतामा राखेको पनि बताए । उनले नेपाली चलचित्रका निर्माताले जबसम्म आफ्नो लगानी सुरक्षित गर्न सक्दैनन् तबसम्म नेपाली चलचित्र सुरक्षित नहुने दाबी गरे । 

अध्यक्ष केसीले चलचित्रको व्यवस्थीकरणका लागि नीति निर्माणका क्षेत्रमा काम थालेको र चाँडै नीति बनिसक्ने दाबी गरे । उनले चलचित्र व्यवस्थापनका लागि नीति बनाइसकेपछि चलचित्रकर्मीलाई नेपाली सिनेमाप्रति आत्मविश्वास बढ्ने बताए । 

अध्यक्ष केसीले नेपाली सिनेमालाई राम्रो बनाउनको लागि आफूले मुम्बईको गल्लीमा पसिना बगाएको स्मरण गरे । उनले प्रेमगीत विश्वभर चल्ने खबरले फिल्मकर्मीको लागि चाडभन्दा पनि ठूलो भएको बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार सुनिल थापाले धेरै निर्माताहरुको फिल्म अब अन्तर्राष्ट्रियस्तरको बन्ने बताए । उनले प्रेमगीतले यो वातावरण सिर्जना गरेको भन्दै आगामी दिनमा नेपाली चलचित्र पनि विश्वमा प्रदर्शनी हुने बताए । 

वरिष्ठ अभिनेता थापाले चलचित्र सुटिङमा मनसुनको धेरै दुःख सहेर काम गरेको बताए । उनले सुटिङमा सबैले रमाइलो गरेको अनुभव सुनाए । उनले नेपालीको मनभित्र नेपाली चलचित्र नै हुनुपर्ने बताए । उनले हिन्दीमा डबिङ भएको प्रेमगीत हेर्ने भन्ने कुरा आएकोले नेपाली भाषामै रहेको चलचित्र हेर्न आग्रह गरे ।



कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठले सकरकाले चलचित्र प्रेमगीत ३ को कर फ्रि गर्न माग गरे । उनले राष्ट्रलाई चिनाउने चलचित्रलाई राष्ट्रले पनि केही सहयोग गर्नुपर्ने बताए । उनले कलाकारलाई सम्मान गर्ने हो भने अग्रज कलाकारबाट सम्मान गर्नुपर्ने बताए । 

उनले मनाङमा पुगेर प्रेमगीत ३ को सुटिङ गर्दा निर्माता टिमले अभिभावकको जसरी कलाकारलाई ध्यान दिएको बताए । उनले मातापिताको जस्तो अभिभावकीय भूमिका निर्माण पक्षले गरेको भन्दै प्रशंसा गरे । 



नेपाली चलचित्र प्रेमगीत ३ आगामी ७ असोजमा नेपाल र भारतमा एकसाथ प्रदर्शनी हुँदैछ । साथै चीनमा पनि फिल्म प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । चलचित्रमा अभिनेता प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका वरिष्ठ कलाकारको मुख्य अभिनय छ ।

  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १९:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया