‘प्रकाश’को प्रदर्शनमा हलहरूले विभेद गरेको भन्दै जुम्लामा विरोध

जुम्लामा छायांकन गरिएको फिल्म प्रकाशको प्रदर्शनमा विभेद गरिएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले जिल्ला प्रशासनमार्फत सञ्चार तथा चलचित्र विकास बोर्डमा ज्ञापन-पत्र पठाएका छन् ।

जुम्लेली परिवेश, रहनसहन, भाषा, संस्कृतिमा आधारित फिल्मलाई हलको शोमा विभेद गरिएको बारे पत्रमार्फत ध्यानाकर्षण गराइएको हो । फिल्मलाई आम नेपालीमाझ पुग्नबाट रोक्ने प्रयास गरिएको आरोपसमेत लगाइएको छ ।

ज्ञापन-पत्र चलचित्र संघलाई पनि बोधार्थ पठाइएको छ । ‘कर्णालीमाथिको विभेद अन्त्य गर’, ‘‘प्रकाश’ प्रदर्शनका लागि पर्याप्त शोहरु देऊ’ जस्ता नारा लेखिएका प्लेकार्डसहित जिल्ला प्रशासन कार्यलयमा उपस्थित भएका जुम्लाबासीले सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाललाई ध्यानाकर्षण-पत्र हस्तान्तरण गरेका हुन् ।

उनीहरूले फिल्ममाथिको विभेद नरोके थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । ‘प्रकाश’माथिको विभेद आफूहरूमाथिको विभेद हो भन्दै स्वतःस्फूर्त रूपमा जुम्लाबासीहरू प्रतिकारमा उत्रिएको स्थानीय अनुप थापाले जनाए ।

‘प्रकाश’ जुम्लाको प्रतिबिम्ब भएको भन्दै उनीहरुले जुम्लालाई देशले बुझ्न पाउनुपर्ने बताएका छन् । खस भाषा र जुम्लाको परिवेश भएकै कारण विभिन्न बहाना देखाएर फिल्म प्रदर्शनका लागि पर्याप्त समय नदिइनु जुम्लामाथि काठमाडौंले गरिरहेको विभेदको निरन्तरता भएको उनीहरूको आरोप छ ।

दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माण रहेको फिल्मले शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्छ । फिल्म अहिले नेपालसहित अन्य मुलुकमा रिलिज भएको छ ।





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १९:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया