प्रतिनिधिसभा बैठक : शून्य समयमा कसले के भने ?

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्ने अधिकांश सांसदले आफ्नो क्षेत्रको समस्या र समसामयिक विषयवस्तुमाथि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरूले शिक्षा, सेना, आसन्न निर्वाचनलगायत विषयवस्तुमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गरे । उनले गोरखा सैनिकहरूको मागलाई सरकारले बेवास्ता गरेर दुःखी बनाएकाले तत्काल माग पूरा गर्न माग गरेका हुन् । सांसद राजभण्डारीले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताए ।

त्यस्तै, सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । उनले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरूको जायज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताए ।

सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी ४ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गरिन् । उनले अहिले ४५ लाख नेपाली विदेशमा रहेको तर अहिलेसम्म निर्वाचनमा मत दिने अधिकार नपाएको बताइन् ।

सांसद विश्वकर्माले सम्बन्धित दूतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गरिन् । उनले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरूलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गरे ।  

त्यस्तै, सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रवद्धन गर्न आर्थिक र प्राविधिक प्याकेज माग गरे । उनले उक्त क्षेत्रमा १२ सय घरपरिवार कफी खेतीमा संग्लन भएर युरोपमा कफी निर्यात गरिरहेको बताए ।



सिलवालले यो वर्ष करिव ९ टन कफी निर्यात गर्ने किसानहरूले लक्ष्य राखेको पनि बताए । त्यहाँका किसान संसदसमेत मन्त्रालयहरूमा गएर कफी खेती प्रवद्धन गर्न आर्थिक सहयोग माग गर्दासमेत सरकारले कानमा तेल हालेर बसेको आरोप लगाए ।  

त्यस्तै, सांसद पार्वता जिसी चौधरीले माओवादी र कांग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हित नगर्ने बताइन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली कांग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरिन् । 



सांसद चौधरीले प्रधानमन्त्री देउवालाई कांग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने घोषणा गर्न सुझाव दिए । उनले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताइन् । सांसद चौधरीले प्रधानमन्त्री देउवालाई जीवनको अन्तिम समयमा एउटा राम्रो काम गर्न भन्दै राम्रो काम नगरे भावी पुस्ताले सराप्ने बताए ।

त्यस्तै, सांसद अञ्जना विशंखेले आगामी निर्वाचनमा महिलाको लागि निर्वाचन आरक्षण तोकी कानुन बनाएर समानुपातिक सहभागिता कायम गर्न सरकारसँग माग गरिन् । उनले आरक्षण ताकेर तत्काल विधेयक ल्याउन सभामुखको रुलिङ माग गरिन् ।  

त्यस्तै, सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालय तीन वर्षमा ३०० सय दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकालाई स्पष्टिकरण सोध्नुपर्ने बताए । उनले युद्धको समयमा समेत विद्यालय र विश्व विद्यालयहरू सञ्चालन भएको देशहरू धेरै रहेको बताए ।

सांसद सुवालले भारतको गगनचुम्बी जुम्ल्याहा भवन बम राखेर भत्काए जस्तै काठमाडौंको ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको व्यापारिक भवन छायाँ कम्प्लेक्स भत्काउन जरुरी रहेको बताए । उनले निर्वाचन घोषणा भएपछि संसद् सुचारु हुने आचारसंहिताको उल्लंघन भएको गुनासो भएकाले तत्काल संसद् अन्त्य गर्न माग गरे । सांसद सुवालले उल्लेखित विषयमा सभामुखसँग रुलिङको मागसमेत गरे ।

त्यस्तै, सांसद डा. विजय सुब्बाले साझा प्रकाशनलाई कक्षा ११ को पाठ्यपुस्तक छाप्न दिने निर्णय भए पनि स्वीकृत नभएको भन्दै तत्काल फाइल स्वीकृत गर्न माग गरे । उनले योभन्दा अगाडिका ६ जना शिक्षा मन्त्रीले साझा प्रकाशन केन्द्र डुबाइएको पनि बताए । सांसद सुब्बाले शिक्षा मन्त्रीलाई साझा प्रकाशनको विषयमा गलत सूचना गएको पनि बताए ।  

  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार १३:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया