नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ । सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकबाट एमाले बाहिरिएको हो ।
दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाब र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा फिर्ता पठाएकी थिइन् । तत्पश्चात् बसेको प्रतिनिधिसभा बैठकले पुनः विनासंशोधन जस्ताको तस्तै पारित गरी राष्ट्रिय सभामा पठाएको छ ।
राष्ट्रिय सभाले थप छलफल र पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा आइतबार सो विधेयक पठाएको छ । यसपछि सोमबार बसेको विधायन समितिमा सो विधेयकमाथि छलफल भएको छ । उक्त छलफल नै छाडेर एमाले बाहिरिएको हो । यद्यपि, एमाले बैठक भने बहिष्कार गरेको भने होइन ।
बैठक चलिरहँदा बाहिर अर्को बैठकमा सहभागी हुनुपर्ने भन्दै एमाले सांसद बाहिरिएका हुन् ।
एमाले सांसदहरु बाहिरिएपछि बैठक १६ भदौ दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । आगामी बुधबार बस्ने बैठकले सो विधेयक पारित गर्ने समितिको तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।