राधाको प्रदर्शनी रोकेर कलाकारहरूले भने - विकल्प खोजेर दर्शकसामू पुग्छौँ

गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ । मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो । 

चलचित्रलाई सिनेमा हलहरूले शोजमा अन्याय गरेको उनीहरूको आरोप छ । शुक्रबार ४५ शो पाएको चलचित्रले शनिबार ५० शो र तीजको दिन ५५ शोभन्दा माथि पाउने आश गरे पनि अपेक्षाकृत रूपमा हलहरूले शो नदिएको उनीहरूको आरोप छ । 

नेपाली फिल्म राधाले दर्शकको राम्रो प्रतिक्रिया पाएको तर हलहरूले प्रदर्शनको समय नदिएको उनीहरूको गुनासो छ । पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक सुवर्ण थापाले हलहरूले दर्शक जाँदाजाँदै पनि शो घटाएर अन्याय गरेको बताए । 

उनले फिल्म लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शकहरू आइरहेको बेलामा शो नै नदिनु नेपाली चलचित्र क्षेत्रमै अन्याय भएको बताए । आफूसँगै प्रतिष्पर्धामा रहेको प्रकाश चलचित्रले पनि पत्रकार सम्मेलन गरेपछि मात्रै केही शोहरू बढाएको बताए । 

त्यस्तै, अभिनेता सौगात मल्लले हलहरूले शो नदिए वैकल्पिक उपाय सोच्नुपर्ने बताए । अभिनेत्री श्रृष्टि श्रेष्ठले अब चाँडै अर्को विकल्प खोजेर दर्शकसामु पुग्ने बताइन् । 

उनले वैकल्पिक उपायबाट दर्शकसँग जोडिने बारेमा छलफल भइरहेको र अन्यायमा पर्ने अन्य फिल्महरूका बारेमा यसले सहयोग पुग्ने बताए ।



सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगात र श्रृष्टिबाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय छ । 

फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेण्ट युके, मण्डला अनलाइन र एएमआई फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएसनमा निर्माण भएको हो । 



फिल्म वीरजना इन्टरटेन्मेण्ट तथा विक्रमदास जोशी सह–निर्माता रहेका छन् । फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १८:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया