नैना हस्पिटल दर्ताबिना नै सञ्चालनमा, चिकित्सकको लापरबाहीले शिशुको मृत्यु
चिकित्सक नै बिचौलिया

जनकपुरधामको रामानन्दचोकस्थित नैना हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको जन्मिएको दोस्रो दिनमै मृत्यु भएको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ त्रिभुवननगर बस्ने रवीन्द्र साहकी पत्नी चञ्चला देवीलाई प्रशव पीडा हुँदा परिवारले उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याए ।

प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले अपरेशन गरी उनको पेटबाट बच्चा निकाले । शिशु जन्मिएपछि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने भन्दै प्रादेशिक अस्पतालको एनआइसियू खाली नरहेको शिशुका बुबा रवीन्द्रलाई डा. मण्डलले जानकारी गराए । 

उनले भने, ‘डा. मण्डलले शिशुलाई रामानन्दचोकस्थित डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटलमा लगेर एनआइसियूमा राखेर उपचार गर्नुपर्छ भने । त्यसपछि शिशुलाई सोही दिन नैना हस्पिटलमा लगेर उपचार सुरु गरियो । तर, बुधबार दिउँसो एक्कासि शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी गरायो ।’ 

‘डाक्टरलाई शिशुको अवस्था ठिक छैन भने अन्यत्र रेफर गरिदिन आग्रह गर्दै आएका थियौँ । तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रेफर गर्नु पर्दैन भन्दै आइरहेका थिए,’ रवीन्द्रले भने, ‘तर, अचानक बुधबार शिशुको मृत्यु भइसकेको जानकारी गराउँदा हामी आश्चर्यमा पर्यौं ।’

चिकित्सकले हर्टबिट कम रहेको भन्दै शिशुलाई एनआइसियूमा भर्ना गर्न लगाएको रवीन्द्रको आरोप छ । शिशुलाई जोगाउन नसकेको अस्पतालले दुई दिनमा ३२ हजार रुपैयाँको बिल दिएको उनको भनाइ छ ।  



घटना सम्बन्धमा डाक्टर अभय मण्डलले भने, ‘चञ्चलाको डेलिभरी कुन अवस्थामा भयो त्यो मलाई जानकारी भएन् । तर, शिशु जन्मेपछि उसको हर्टबिट कम थियो, त्यसैले एनआइसियूमा राखेर उपचार गरियो । अस्पतालले सकेसम्म शिशुलाई बचाउने सम्पूर्ण प्रयास गरेकै हो । तर, बचाउन सकिएन ।’

दर्ताबिना सञ्चालित नैना अस्पताल



स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी अस्पताल सञ्चालन गर्दा प्रचलित कम्पनी कानुनबमोजिम स्थापना भई अनुमति प्रदान गर्ने निकायबाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको हुनुपर्दछ । 

२५ शैय्यासम्मका जनरल अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र २५ शैय्यादेखि माथिका अस्पतालहरू सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ । तर, जनकपुरधाममा भने यस्तो केही देखिँदैन । यहाँका अधिकांश अस्पताल दर्ताबिना नै वर्षौंदेखि सञ्चालनमा रहेका छन् । 

यस्ता अस्पतालहरू दर्जनौंको संख्यामा रहे पनि जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेश सरकार मातहतको निकायले अनुगमनतर्फ कुनै चासो नै देखाएको छैन । यहाँ कुन–कुन निजी अस्पताल र पोलिक्लिनिक तथा क्लिनिकहरू दर्ता गराई सञ्चालन भइरहेका छन्, त्यसको उपमहानगरपालिकासँग कुनै डाटा नै छैन । 

यस्तै, अवैध अस्पताल मध्येको एक हो– जनकपुरधाम उपमहानगरपालिका–८ स्थित डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटल प्रालि । ५० शैय्याको यो अस्पताल विगत १६ महिनादेखि दर्ताबिना नै सञ्चालनमा रहेको पाइएको छ । 

दर्ताबिना नै सञ्चालित यस अस्पतालले नवजात शिशुलाई समेत मृत्युको मुखमा पुर्याइसकेको छ । तर, सरकोकारवाला निकायले अझै यस अस्पतालमाथि कुनै कारबाही गरेको छैन । नैना हस्पिटल सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत सञ्चालित छ । 

यो अस्पताल कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा चलिरहेको छ । कम्पनी रजिष्ट्रारमा दर्ता भएको कम्पनीले उद्देश्यअनुसारको काम गर्नका लागि अन्य सम्बन्धित निकायसँग अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, यस हस्पिटलले स्वास्थ्य सेवा सञ्चालनका लागि कुनै पनि निकायसँग अनुमति लिएको छैन ।

अस्पतालको दर्ताको बारेमा मधेस प्रदेशको सामाजिक विकास मातहत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयलाई कुनै जानकारी छैन । निर्देशनालयका निर्देशक विजय झाले भने, ‘यो अस्पतालको दर्ता सम्बन्धमा कुनै पनि कागजात आफू कहाँ आएको छैन, अस्पताल सञ्चालन बारे हामीलाई कुनै जानकारी छैन ।’ 

स्थानीय युवा अगुवा सुशील कर्णले भने, ‘छोटो समयमै धेरै आम्दानी हुने भएकाले पछिल्लो समय स्वास्थ्य संस्थाहरूलाई पनि व्यवसायको रूप प्रदान गरिएको छ । चिकित्सकहरू व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तर, सरोकारवाला निकाय मानव स्वास्थ्यमाथि भइरहेको यति गम्भीर लापरबाहीका घटनामा समेत उदासीन र मौन देखिँदै आएका छन् ।’

‘चिकित्सा पेसा एक मर्यादित, उत्तरदायी र संवेदनशील भएकाले जिम्मेवार मानिन्छ । तर, सो अस्पतालका सञ्चालक डा. रजकले मानव स्वास्थ्यको कुनै वास्ता नै नगरी गैरकानूनी रूपमा अस्पताल सञ्चालन गरेर खेलबाड गर्दै आएका छन्,’ कर्णले भने ।

यो हस्पिटल सामान्य भवनमा चलिरहेको छ, जुन मापदण्डविपरीत हो । कुनै पनि अस्पतालले सेवा सञ्चालन गर्दा अस्पताल रहने स्थान धुँवाधुलो, ध्वनी, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको हुनुपर्नेमा यस अस्पतालले त्यस्तो मापदण्डको कुनै पालना नै गरेको छैन ।

यस सम्बन्धमा अस्पतालका सञ्चालक डा. बृजमोहन रजकले आफूहरू हस्पिटल दर्ताको प्रक्रियामा रहेको बताए । हस्पिटल सञ्चालन गरेको १६ महिना बिते पनि हालसम्म दर्ता हुन नसकेको स्वीकार्दै उनले तत्काल दर्ताको प्रक्रियामा जाने बताए । 

चिकित्सक नै बिचौलिया

‘प्रादेशिक अस्पतालमा उपचार हुँदैन, दक्ष जनशक्ति र स्रोत साधनको अभाव छ’ भन्दै बिरामीलाई निजी अस्पतालमा पठाउने काममा चिकित्सक नै संलग्न रहेको पाइएको छ । प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डल नैना हस्पिटलमा पनि काम गर्छन् । 

प्रादेशिकमा अपरेशनमार्फत शिशु जन्मेपछि यहाँ एनआईसियू खाली छैन, यसलाई थप उपचारका लागि नैना हस्पिटलमा लग्नुपर्छ भन्दै उनले नै परिवारजनलाई दबाब दिएका थिए । 

प्रादेशिक अस्पतालको व्यवस्थापन फितलो हुँदा कमाइ खाने भाँडो बनाउन अस्पतालका चिकित्सकदेखि पीयनसम्म बिचौलियको काममा सक्रिय देखिएका छन् । 

फार्मेसीमा ब्रम्ह्लूट

नैना हस्पिटलले हस्पिटलको हाताभित्रै सञ्चालन गरेको फार्मेसी पनि दर्ताबिना नै सञ्चालन गरी बिरामीसँग अवैध रकम असुल गरिरहेको स्रोतले जनाएको छ । 

अस्पतालभित्र दर्ताबिना नै औषधि पसल सञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको बिरामीका आफन्तको गुनासो छ । औषधि पसलमा अनुमतिपत्र अर्थात फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरिरहेको स्रोतको दाबी छ ।

  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ११:५२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया