राष्ट्रियसभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबारको राष्ट्रियसभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य बोहोराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताए । उनले सो सडकखण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभा सदस्य उर्मिला अर्यालले मधेशमा सिँचाइ र मलको अभावका कारण खेतियोग्य जमिन बाँझो रहेको बताइन् । उनले यसको समाधानका लागि बहुउद्देश्यीय पहाड–मधेस सिँचाइ आयोजना कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् । मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराइन् ।
राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले अघोषित रुपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले सहकारीले जनताको रकम लिएर फरार हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभा सदस्य मदनकुमारी साह गरिमाले कैलाली जिल्लामा रहेको पथ्रैया, मोहना, काँडा, कान्द्रा र कर्णाली नदी तटिय क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग गरिन् ।
राष्ट्रियसभा सदस्य मोहम्मद खालिदले गत वर्ष सुख्खाग्रसित किसानले पाउने भनिएको राहत रकम सिरहा नगरपालिकाका किसानहरुले हालसम्म नपाएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभा सदस्य सुरेशकुमार आले मगरले काठमाडौंमा डेंगुको प्रकोप फैलिएको भन्दै यसलाई गम्भीर रूपमा लिएर रोकथामको लागि पर्याप्त तयारी गर्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलालाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ निर्वाचित गराउनुपर्ने बताइन् । उनले बुटवल–काठमाडौंको सडकको दुर्दशा रहेको भन्दै यसको निर्माणको निम्ति सरकारको ध्यानाकर्षण गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।