प्रदेश १ः ‘न्वारन’ नगरी सकियो प्रदेशसभाको कार्यकाल, दलहरूले जनतासँग मागे माफी

प्रदेश-१ को प्रदेशसभाको पहिलो कार्यकाल नामकरण नगरी सकिएको छ । स्थायी राजधानीको टुंगो लागे पनि दलहरूको दलीय स्वार्थ र खिचातानीका कारण प्रदेशसभाको कार्यकाल नामकरण नगरी सकिएको हो । 

प्रदेशसभाको पहिलो कार्यकालको आज अन्तिम बैठक बसेको छ । बैठकमा नामकरण गर्न नसकिएको भन्दै सांसदले जनतासँग माफी मागेका छन् । दलहरूले आ–आफ्नो दलीय स्वार्थका कारण जिम्मेवारीबाट पन्छिदा नामकरण हुन नसकेको हो । 

नामकरण नगरी प्रदेशसभाको कार्यकाल सकिएको भन्दै दलका नेताहरूले दलको हैसियतअनुसार जिम्मेवारी लिनुपर्ने बताएका छन् । 

नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेश संरचनाले काम गर्न नसकेकाले आम रूपमा आलोचना भइरहेको बताए । 

उनले प्रदेशको नामकरण गर्न नसकेकोमा जनतालाई उत्तर दिनुपर्ने भन्दै पहिले आफूले उठाएका मुद्दामा कुनै पनि दलले अडान लिन नसकेको दाबी गरे । 

पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्यले किराँत सभ्यतालाई तोडमोड गर्दा नामकरणका विषयमा विवाद भएको बताए । उनले राम्रो काम गर्न नसकेकोमा जनतासँग माफी माग्नुको विकल्प नभएको बताए । 



कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले पहिलो कार्यकाल संरचना निर्माणमा महत्त्वपूर्ण काम भएको बताए । उनले संसदलाई प्रभावकारी बनाउन केही भूमिका भने नपुगेको स्वीकार गरे । 

नामकरणको विषय प्रक्रियामा लानै नसकेको र प्रक्रियामा नजाँदा जनताले केही थाहा नपाएको बताए । उनले प्रदेशको नाम राख्न नसकिएकोमा प्रदेशसभाबाटै जनतासमक्ष माफीसमेत मागे । 



नेकपा माओवादी केन्द्रका सांसद धीरेन्द्र शर्माले नामकरणको विषय जनताको चासो भए पनि गर्न नसक्नु कमजोरी भएको स्वीकार गरे । 
उनले पहिचानको विषयलाई साम्प्रदायिकता भनेर प्रचार गरिएको आरोप लगाए । 

शर्माले प्रदेशसभाले ६४ वटा कानुन निर्माण गरेको भए पनि केही महत्त्वपूर्ण ऐन ल्याउन नसक्नु कमजोरी भएको बताए । 

नेकपा एकीकृत समाजवादीकी सांसद सरिता थापाले पहिलो कार्यकालमा गर्नैपर्ने केही महत्त्वपूर्ण कामहरू छुटेको बताइन् । उनले प्रदेशको नामकरण हुन नसकेको जस/अपजस दलहरूको हैसियतअनुसार लिन तयार हुनुपर्ने बताइन् । 

थापाले दुई तिहाइको सरकार संघदेखि प्रदेशसम्म टिक्न नसक्दा जनताको अपेक्षामा कुठाराघात भएको बताइन् । 

जनता समाजवादी पार्टी संसदीय दलका नेता तथा प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले नामकरण नटुंगिदा जनतामा नकारात्मक सन्देश गएको बताए । उनले ठूला दलले अधिकार दिन र माग्न नसक्दा जनअपेक्षा पूरा गर्न नसकेको भन्दै जनतासँग क्षमा मागे । 

राप्रपा संसदीय दलकी नेता ईन्दिरा राईले प्रदेशको नामकरण हुन नसक्नु दुखद पक्ष भएको बताइन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद तथा सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले प्रदेश अधिकार सम्पन्न हुनुपर्नेमा जोड दिइन् । 

सो अवसरमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले प्रदेश १ को नामकरण टुंगिन नसक्नुमा सबै दलको कमजोरी रहेको बताए । उनले नामकरणको विषय अब नयाँ संसदमा गएको बताए । 

अहिलेको अवस्थामा कुनै पनि दलहरूले तितोमिठो जस/अपजस लिन नखोजेकोले नामको टुंगो नलागेको उनले बताए । प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन आज राति १२ बजेदेखि सकिँदैछ ।

  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार २०:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया