योजना आयोगका दुई उपाध्यक्ष वाग्ले र पौडेलः पहिलेका साथी, अहिलेका प्रतिस्पर्धी

राष्ट्रिय योजना आयोगमा पछिल्लो समय नेपाली कांग्रेसले बनाएका दुई उपाध्यक्ष केहीअघिसम्म एकअर्काका घनिष्ठ साथी भनेर चिनिन्थे । अर्थशास्त्रमा पिएचडी गरेका यी दुई हुन्– स्वर्णिम वाग्ले र विश्व पौडेल । कुनै समयमा अत्यन्त मिल्ने दुई साथीका रुपमा चिनिएका यी दुईको सम्बन्धमा पौडेल योजना आयोगमा उपाध्यक्ष बनेपछि खटपट मात्र आएको छैन, अब दुवै जना प्रत्यक्ष रुपमा एकअर्काका प्रतिस्पर्धीका रुपमा देखिन समेत थालेका छन् ।

बर्कले विश्वविद्यालयबाट पिएचडी गरेका विश्व पौडेल र अष्ट्रेलियन नेसनल युनिभर्सिटीबाट पिएचडी गरेका वाग्लेबीच योजना आयोगको उपाध्यक्षको आकांक्षाका कारण प्रतिस्पर्धात्मक सम्बन्ध बढेको मात्र होइन, पछिल्लो समय यी दुई एउटै कार्यक्रममा पनि देखिन छाडेका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा यी दुवै जना प्रत्यक्ष राजनीतिमा आउने तयारीमा पनि छन् । यसमा पनि नेपाली कांग्रेसबाट निर्वाचनमा उम्मेदवारी दिनका लागि दुईबीच प्रतिस्पर्धा हुनसक्ने देखिएको छ । किनकि दुवै जना नेपाली कांग्रेसबाट चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारका लागि सिफारिस भएका छन् । यी दुईसँगै तीर्थराज खनियाँ, उमेश श्रेष्ठ, राजेन्द्र बुर्लाकोटी र भीमप्रसाद थपलिया पनि उम्मेदवारका रुपमा नेपाली कांग्रेसले सिफारिस गरेको छ ।

पहिले गोरखाबाट निर्वाचनमा होमिने तयारीमा वाग्ले थिए । तर, पछिल्लो समय उनी गोरखाबाट चितवन झरे । वाग्लेले चितवनबाट उम्मेदवारी दिने तयारी थाहा पाएका पौडेलले पनि आफूलाई प्रत्यक्ष राजनीतिमा ल्याउने निर्णय गरे । र, उनी पनि चितवनबाट नै उम्मेदवार हुने भए । उनले आफ्नो घर चितवन १ मा नै भएकाले आफू स्वभाविक रुपमा त्यहाँको बलियो उम्मेदवार भएको आफ्ना साथीहरुलाई बताउँदै आएका छन् ।

यतिमात्र होइन, वाग्लेले चितवन रोज्नुलाई आफूसँग प्रतिस्पर्धा गर्न उत्रिएको हिसाबका रुपमा बुझेका छन्, पौडेलले । ‘वाग्लेसँग प्रत्यक्ष राजनीतिमा आउनका लागि विकल्पका रुपमा गोरखा थियो, काठमाडौंका क्षेत्रहरु थिए,’ पौडेलनिकट नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘तर, उहाँले चितवनमा गएर उम्मेदवारी दिनु भएछ । मैले यस विषयमा वाग्ले र पौडेलबीच छलफल भएको थियो कि भन्ने बुझ्न खोजेको थिएँ, तर उहाँहरुबीच यस विषयमा कुनै कुराकानी भएको थिएन रे ।’

योजना आयोगको उपाध्यक्ष बनेपछि पौडेल स्वभाविक रुपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नजिक भएका छन् । अर्कोतिर वाग्ले नेपाली कांग्रेसमा शेखर कोइराला, गगन थापाहरुको समूहसँग नजिक छन् । कांग्रेस सभापति देउवासँग आफूलाई योजना आयोगको सदस्य बनाउन आग्रह गर्न पुगेका पौडेललाई देउवाले सरप्राइज दिएका थिए, उपाध्यक्ष बनाएर । यसमा देउवा पत्नी आरजु राणाको भूमिका रहेको कांग्रेसमा टिप्पणी हुने गरेको छ । 



पौडेलले आरजु राणाको विद्यालय युलेन्सको बोर्ड अफ ट्रस्टीमा रहेर गरेको सहयोगका कारण तथा पछिल्लो समय स्कुलको जग्गा विवादमा समाधान निकाल्न खेलेको भूमिकाका कारण आरजुले उनलाई उपाध्यक्ष नै बनाउन देउवालाई कन्भिन्स गरेको पनि टिप्पणी हुने गरेको छ ।

पौडेल योजना आयोगको उपाध्यक्ष बनेपछि नै वाग्लेसँग उनको सम्बन्धमा खटपट सुरु भएको हो ।



‘वाग्लेले पौडेललाई आफ्नो प्रतिस्पर्धीका रुपमा लिन थालिसकेका थिए,’ कांग्रेसका ती नेताले भने, ‘पौडेललाई योजना आयोगको उपाध्यक्ष बनाएपछि उनी थप रुष्ट बन्दै गएका हुन् ।’

पछिल्लो समय गगन थापानिकट कांग्रेसका नेताहरुले वाग्लेलाई भावी अर्थमन्त्रीका रुपमा टिप्पणी र चित्रण गर्न थालेपछि पौडेललाई पनि देउवा समूहले अगाडि सार्न थालेको हो । त्यसो त कांग्रेसमा योजना आयोगमा उपाध्यक्ष बनेका गोविन्दराज पोखरेल पनि प्रत्यक्ष राजनीतिमा आइसकेका छन् ।

गोरखाबाट चितवन झरेका वाग्लेले त्यहाँबाट कांग्रेसका उम्मेदवार बन्न पाउँछन् या पाउँदैनन्, हेर्न बाँकी छ । त्यही क्षेत्रमा राज्यमन्त्री उमेश श्रेष्ठले पनि आकांक्षा देखाएका छन् । बुर्लाकोटीलाई पनि त्यहाँ बलियो उम्मेदवारका रुपमा हेरिएको छ । पौडेलले योजना आयोग छाडेर राजनीतिलाई रोज्लान् या नरोज्लान् भन्ने निष्कर्षमा पुग्न केही समय कुर्नुको विकल्प छैन ।

जे होस्, यसले कुनै समयका निकट दुई साथी वाग्ले र पौडेललाई अब प्रतिस्पर्धामा उतारेको छ ।

  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार ११:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया