विद्युतीय सवारीसाधन मात्रै आयात गर्न हरिवंशको सुझाब

वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई नेकपा (माओवादी केन्द्र)ले काठमाडौंबाट उम्मेदवार बनाउन लागेको भन्दै शुभकामना दिएका छन् । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो शुभकामना दिएका हुन् ।

विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै उनले राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए । नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै आचार्यले भने, ‘राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, उहाँलाई शुभकामना !’

आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्ने बताए । विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको उनले बताए । 

विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको गुनासो गर्दै आचार्यले सरकारले विद्युतीय सवारीको कर बढाएकै कारण आफ्नो विद्युतीय सवारी किनेर चढ्ने सपना पूरा हुन नसकेको र घरमा पनि श्रीमतीले हरेक दिन सरकारले भन्सार घटाएन भन्ने प्रश्न गरिरहेको भन्दै व्यंग्य गरे । 

वरिष्ठ कलाकार आचार्यले सरकारले विद्युतीय गाडीको भन्सार घटाइ डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेको बताए । देश विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन आवश्यक रहेको भन्दै उनले सार्वजनिक यातायात पूर्णतया विद्युतीयकरण हुनसके मात्रै खर्बौं रकम विदेश जानबाट रोकिने दाबी गरे । 

दशौँ लाख युवाहरुलाई विदेशमा निर्यात गरेर आएको रेमिटेन्सबाट देशको अर्थतन्त्र अघि बढाउने परिपाटीको अन्त्य हुन आवश्यक रहेको वरिष्ठ कलाकार आचार्यले बताए । 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १७:२६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया