महिला साफ आजबाट सुरु हुँदै, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्नेछन् ।

उद्घाटन खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ साढे ५ बजे सुरु हुनेछ  । साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । 

अन्डरडग टोली भुटान पनि आज जित निकाल्दै विजयी सुरुवात गर्ने सोचमा छ । महिला साफ च्याम्पियनसिपको इतिहासलाई हेर्ने हो भने नेपाल बलियो देखिन्छ । यी दुई टोलीले साफका हालसम्म तीन खेलमा एकअर्कोको सामना गरेका छन् । जसमा नेपाल तीनै खेलमा विजयी भएको छ ।

नेपाल र भुटानले सन् २०१४ को साफमा पहिलोपटक एकअर्काको सामना गरेका थिए । पाकिस्तानमा भएको सो खेलमा नेपालले भुटानलाई ८–० ले हराएको थियो । सन् २०१६ मा भारतले आयोजना गरेको साफमा पनि नेपाल ८–० ले विजयी भयो ।

पछिल्लोपटक सन् २०१९ मा विराटनगरमा खेल्दा नेपाल ३–० ले विजयी भएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता  छ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । यस्तै, समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् ।



समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल ३ असोजमा  हुनेछ । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल २८ भदौमा श्रीलंकाविरुद्ध खेल्नेछ । 



  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार ७:२९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया