राष्ट्रियसभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो ।
बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताए । उनले कारागारमा पनि संरचनाले धान्नेभन्दा बढी बन्दी रहेको उल्लेख गर्दै आचरण सुधारेकालाई बाहिर निकाल्न पाए कारागारमा सहजता हुने बताए ।
उनले जन्मकैदको सजाय, तेजाब आक्रमण, जबरजस्ती करणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागुऔषधको ओसारपसार, सम्पत्ति शुद्धीकरण, संगठित अपराधलगायतका २० वटाभन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने स्पष्ट पारे ।
त्यसैगरी बैठकले शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
राष्ट्रियसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाको आगामी बैठक २६ भदौ दिउँसो १२ः५९ बजे बस्नेगरी बोलाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।