पल शाहलाई नाबालिग बलात्कार अभियोगमा सफाइ, यौन दुरुपयोगमा अढाइ वर्ष जेल

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)ले सो अभियोगमा सफाइ पाएका छन्। जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेका हुन्। बलात्कार आरोपमा सफाइ पाए पनि उनलाई बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय हुने भएको छ । 

नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालका अनुसार उनलाई थप २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय तोकिएको छ । जिल्ला अदालत नवलपुरबाट उक्त फैसला भए पनि तनहुँ जिल्ला अदालतमा भने नाबालिग बलात्कार मुद्दा विचाराधीन छ।

पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए। 

गत वैशाखमा बकपत्र गर्दा भने पीडित नाबालिग र उनका बुवाले बयान फेरेका थिए। बकपत्रमा नाबालिगले आफूमाथि बलात्कार नभएको बताएकी थिइन् भने उनका बुवाले पनि छोरीले दिएकै बयान ठिक भएको बताएका थिए।

प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरूद्ध पल शाह उच्च अदालत पोखरामा पुनरावेदन गराएका थिए। उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार २०:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया