समाजिक सञ्जाल ह्याक गरी पैसा माग्ने गिरोह सक्रिय, प्रहरीमा उजुरीको चाङ

सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै यसको दुरुपयोग पनि बढ्न थालेको छ । ह्याकरले फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्राम आदि सामाजिक सञ्जालको अकाउन्ट ह्याक गर्न थालेपछि यसको दुरुपयोग बढ्न थालेको हो ।

ह्याकरहरूले अकाउन्ट ह्याक गरेर पैसासमेत माग्न थालेका घटना बढिरहेका प्रहरीले जनाएको छ । ह्याकरले फेसबुक आइडी आफ्नो नियन्त्रणमा लिएर आफन्त तथा साथीभाइसँग पैसा माग्ने गरेको घटना बढिरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार ह्याकरले म्यासेन्जरमा एसएमएस पठाएर कोड माग्ने र सोही कोडबाट सामाजिक सञ्जाल आफ्नो नियन्त्रणमा लिने र पुनः उसैको आफन्त साथीभाइसँग पैसा माग्ने गरेका छन् । 

ह्याकरहरूले सानाठूला व्यक्ति नहेरी सबैलाई आफ्नो निशाना बनाइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका अध्यक्ष राजकुमार न्यौपानेलाई आइतबार साढे १० एउटा फेसबुक अकाउन्टबाट म्यासेज आयो । उनीहरूबीच लामो समय कुरा पनि भयो । आफूले नचिनेको आइडीबाट म्यासेज आउँदा न्यौपानेले कुनै प्रवाह गरेनन् । 

जिल्ला अध्यक्ष भएकै कारण उनले साथीभाइहरूले कुराकानी बढाएका होलान्, सम्बन्ध कायम राख्नको लागि बोल्नुपर्छ भन्ने सोच्दै ती अपरिचित व्यक्तिसँग च्याट गरिरहे । केही बेरमा ती व्यक्तिले विभिन्न बहाना बनाउँदै रकम माग्न थाले । पैसाको कारोबार आफूबाट हुँदैन भन्ने जवाफ न्यौपानेले दिएपछि ती व्यक्तिले भने, ‘ठिकै छ दाइ त्यसो भए, मेरो लागि सानो सहयोग गर्नुस् नत ।’ 

न्यौपानेले उनको प्रस्तावमा ‘हुन्छ’ भने । त्यसपछि ती अपरिचित व्यक्तिले भने, ‘तपाइँको मोबाइलमा आएको कोड दिनु नत ।’ उक्त कोड न्यौपानेले दिए । त्यसपछि उनलाई रातको १२ बजेतिर साथी र आफन्तको फोन आउन थाल्यो । आफन्त र साथीभाइले किन पैसा मागेको? के का लागि? कति चाहिएको? जस्ता प्रश्न गरेपछि न्यौपाने चकित परे । त्यसपछि उनले बल्ल आफ्नो फेसबुक आइडी ह्याक भएको थाहा पाए । आइतबार रातिदेखि न्यौपानेले आफ्नो फेसबुक आइडी आफ्नो नियन्त्रणमा ल्याउन सकेका छैनन् । 



न्यौपाने त एक उदाहरण मात्रै हुन् । पछिल्लो समय यस्ता थुप्रै व्यक्ति सामाजिक सञ्जाल ह्याकरको सिकार भइरहेका छन् । प्रहरीमा अहिले मोबाइलमा आएको कोड दिएकै आधारमा आफ्नो फेसबुक आइडी ह्याक भयो भनेर गुनासो गर्न आउने पीडितको संख्या बढिरहेको छ ।

‘आफन्तले नै म्यासेज पठाएको थियो । केही परेर यस्तो कोड आको होला भनेर मैले दिएँ, भरे त आफ्नै फेसबुक पनि ह्याक भयो । त्यो कुरा गर्ने मान्छेको पनि ह्याक भएर हामीलाई म्यासेज आएको रैछ,’ मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ह्याकरका करण गुनासो गर्न आएकी एक पीडित महिलाले भनिन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर आतंक फैलाउने क्रम बढ्न थालेपछि अहिले जिल्ला प्रहरी कार्यालयको आइटी शाखामा निवेदनको चाङ लागेको छ ।  



जिल्ला प्रहरी कार्यालय मकवानपुरमा २० भदौमा ह्याकरकै कारण समस्यामा परेका सातजनाले निवेदन दर्ता गरेका छन् । चालू आर्थिक वर्षको साउनमा सामाजिक सञ्जाल ह्याक गरेको १० निवेदन दर्ता भएको मकवानपुर प्रहरीले जनाएको छ । जसमध्ये सबैभन्दा बढी फेसबुक अकाउन्ट ह्याक भएको निवेदन परेको छ ।   

त्यस्तै, भदौ १५ गतेसम्म यस प्रकारका ९ वटा निवेदन दर्ता भएका छन् । त्यसपछि निवेदन दिनको संख्या बढिरहेको प्रहरीले जनाएको छ । निवेदनको संख्या बढेसँगै प्रहरीले पनि अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले ह्याकरहरूलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए ।  

ह्यार गिरोहका बारेमा अनुसन्धान भइरहेको र छिट्टै कारबाहीको दायरा ल्याइने उनको भनाइ छ । प्रहरी उपरीक्षक कार्कीले सचेत भएर सामाजिक सञ्जालको प्रयोग गर्न पनि आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग कुराकानी नगर्न र परिचित व्यक्तिसँग सतर्कताका साथ कुराकानी गर्न पनि अनुरोध गरे । 

  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १०:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया