सन्दीपले मात्र होइन यी चर्चित क्रिकेटरले पनि खेपिसकेका छन् यौनदुर्व्यवहारको आरोप

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा मंगलबार किटानी जाहेरी दर्ता गरिन् ।

सन्दीपविरुद्ध यो आरोप लागेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । जसरी सन्दीपले क्रिकेटमा विकेट लिएर चर्चा कमाउने गरेका थिए, त्यसैगरी यो घटनामा उनको ‘आचरण’ माथि निकै धेरै आलोचना गरिएको छ ।

जाहेरी दिने १७ वर्षकी किशोरीले ५ भदौको रातमा आफूलाई सन्दीपले बारम्बार जबर्जस्ती गरेको आरोप लगाएकी छन् । नेपाल प्रहरीले गौशालास्थित एक होटलमा सन्दीपले ती युवतीमाथि जबर्जस्ती गरेको उजुरी परेको पुष्टि गरिसकेको छ । 

सन्दीप अहिले क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इण्डिजमा छन् । लामिछानेलाई चितवनको क्याम्पाचौरबाट तत्कालिन नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले ‘पहिचान’ गरेर राष्ट्रिय टोलीमा स्थान दिएका थिए । पछि सन्दीपलाई अष्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान माइकल क्लार्कले हङकङको लिगबाट आफ्नो एकेडेमीमा बोलाए, प्रशिक्षणका लागि । यसले सन्दीपको क्रिकेटमा निखार ल्यायो ।

त्यसपछि नेपाली क्रिकेटको बलिङमा सन्दीपको एकक्षत्र राज रह्यो । नेपाल क्रिकेट संघ (क्यान) ले पनि सन्दीपलाई विशेष प्राथमिकता दिँदै आएको छ । क्यानले उनलाई २९ मंसिर २०७८ मा नेपाली टोलीको कप्तानमा चयन गर्‍यो ।

अब सन्दीपमाथि लागेको आरोपमा प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गर्ने बताएको छ । विश्व क्रिकेटमा कुनै खेलाडीमाथि यस प्रकारको आरोप लागेको पहिलोपटक भने होइन । सन्दीपअघि पनि धेरै चर्चित क्रिकेटरमाथि बलात्कारको आरोप लागेको छ । यसैबीच, आज  अन्तर्राष्ट्रिय क्रिकेटमा बलात्कार आरोप खेप्ने केही नाम चलेका खेलाडीको चर्चा गर्दैछौं : 



बाबर आजम

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमलाई गत वर्ष एक माहिलाले यौन तथा शारीरिक दुर्व्यवहारको आरोप लगाएकी थिइन् । एक अन्तवार्ताका क्रममा ती महिलाले बाबरले विवाह गर्ने शर्तमा आफूमाथि दुव्र्यवहार गरेका बताएपछि त्यसले विश्व क्रिकेटमा जगतमा ठूलै तरंग ल्याएको थियो । 



पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआइए) लाई ब्ल्याकमेलिङ र उत्पीडनको आरोपमा बाबरविरुद्ध मुद्दा दायर गर्न निर्देशन दिए पनि लाहोर उच्च अदालतले त्यसलाई खारेज गरेको थियो ।  

यासिर साह 

पाकिस्तानी क्रिकेटर यासिर साह गत वर्ष १४ वर्षीय बालिकालाई बलात्कार र यौन उत्पडिनमा सहयोग गरेको आरोपमा पक्राउ परेका थिए । पछि पडित बालिकाले आफ्नो बयान फेरेपछि उनलाई इस्ललामाबाद उच्च अदालले निर्दोष ठहर गरेको थियो । प्रहरीका अनुसार ती बालिकाले गल्तीले यासिरको नाम लिएको बताएकी थिइन् । 

मखाया एनटिनी

सन् १९९९ को सुरुवातमा एनटिनीलाई बलत्कारको आरोपमा दोषी ठहर गरिएको थियो । तर, पछि अफ्रिकाका लागि खेल्ने पहिलो अश्वेत क्रिकेटरले आफू निर्दोष भएको प्रमाण पेस गरेकी यो आरोपबाट मुक्त भए । 

जब एनटिनीमाथि बलात्कारको आरोप लगाइयो । उनको अन्तर्राष्ट्रिय करियर लगभग अन्त्य भएको अनुमान गरिएको थियो । तर, उनले आफूलाई यो घटनाबाट बाहिर निकाल्दै २००७ सम्म देशका लागि खेल । 

उनले दक्षिण अफ्रिकाका लागि १०९ टेस्टमा ३९० तथा १७३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा २६६ विकेट लिए ।

रायन हिन्ड्स

२०१२ को वेस्ट इण्डिजका रायन हिन्ड्सलाई २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लगाइएको थियो । तर, बार्बाडोसको ब्रिजटाउनको मजिस्ट्रेट अदालतमा उपस्थित भएपछि उनलाई जमानतमा रिहा गरियो ।

जमानत रिहा गर्दा हिन्ड्ससामु आफ्नो राहदानी बुझाउनुपर्ने तथा हप्तामा १ पटक होलेटाउन पुलिस स्टेशनमा रिपोर्ट गर्नुपर्ने शर्त राखिएको थियो । उजुरीकर्ताले पर्याप्त प्रमाण पेस गर्न नसकेपछि २०१४ को फेब्रुअरीमा हिन्ड्स यौन दुव्र्यवहारको आरोपबाट मुक्त भए । 

इयान किंग

अस्ट्रेलियाको​ क्विन्सल्याण्ड राज्यका पूर्वक्रिकेटर इयान किंगलाई करिब दुई दशकअघि क्यानबेरामा २० भन्दा बढी बाल यौन दुर्व्यवहारको आरोपमा सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । पीडितको उजुरीपछि प्रहरीले सन् २००८ मा उनलाई पक्राउ गर्‍यो । 

किंग सन् १९८८ र १९९८ को बीचमा क्यानबेरामा जुनियर क्रिकेटर प्रशिक्षण दिएका पाँच बालकमाथि यौन दुर्व्यवहारको अपराधमा दोषी ठहरिए । तीमध्ये एकमा उनलाई आजीवन कारावासको सजाय हुने सम्भावना थियो । तर, किंगको मानसिक स्वास्थ्यका कारण सजायमा ढिलाइ हुन पुग्यो ।

२०१२ फेब्रुअरीमा सर्वोच्च अदालतले मनोवैज्ञानिक प्रतिवेदनका आधारमा किंग्सलाई निवेदन दिन योग्य ठहर गर्दै दोषी ठहर गरेको थियो ।​ वेसहलदेखि क्विन्सल्याण्डको प्रतिनिधित्व गर्ने खेलाडीमा सबैभन्दा छिटो बलर मानिने किंग प्रथम श्रेणी क्रिकेट खेल्ने केही आदिवासी अस्ट्रेलियालीहरूमध्ये एक थिए ।

रुबेल हुसेन

२०१५ मा बंगलादेशी क्रिकेटर रुबेल हुसेनलाई उनको पूर्वप्रेमिकाले यौन सम्पर्कका लागि उनीसँग विवाह गर्ने वाचा गरेको आरोप लगाएपछि हिरासतमा लिइयो । 

१९ वर्षीया बाजिन अख्तरको आरोप बंगलादेशको कानुनअनुसार बलात्कारको दाबी हो । हुसेनले आफू निर्दोष भएको दाबी गर्दै आफूलाई जमानत अस्वीकार गर्ने अदालतको निर्णयविरुद्ध अपिल गरेका थिए । 

बजिनले आफूलाई ब्ल्याकमेल गरिरहेको उनको भनाइ थियो । यो आरोप लागेपछि उनले २०१५ को एकदिवसीय विश्वकप समेत गुमाउन पुगे । निर्दोष ठहरिएपछि उनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुसेन बंगलादेशका लागि २७ टेस्ट, १०४ एकदिवसीय र २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । 

लुक पोमर्सबाक

सन् २०१२ मा अस्ट्रेलियाका पोमर्सबाकलाई नयाँ दिल्लीको होटेलमा एक महिलालाई दुव्र्यवहार गरेको र हुनेवाला श्रीमतीलाई आक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो । रोयल च्यालेन्जर्स बैंग्लोरबाट आइपिएल खेल्ने पोमर्सबाकलाई जमानतमा रिहा गरियो । तर, उनले आफ्नो राहदानी बुझाउनु परेको थियो । 

पछि उनी निर्दोष साबित भए । सन् २००७ मा अस्ट्रेलियाका लागि एक टी–२० अन्तर्राष्ट्रिय खेलेका ३० वर्षीय पोमर्सबाकलाई २०१३ को इन्डियन प्रिमियर लिगका लागि किंग्स ११ पञ्जाबले ३ लाख अमेरिकी डलरमा खरिद गरेको थियो । 

यी बायाँ हाते ब्याटर धेरैपटक मादक पदार्थ सेवनका कारण समस्यामा परेको इतिहास छ । प्रहरी अधिकारीलाई कुटपिट गरेको र मादक पदार्थ सेवन गरी गाडी चलाएको स्वीकार गरेपछि जेल सजायबाट बच्न सफल भएका थिए ।

सोएब अख्तर 

पाकिस्तानका पूर्वतिव्र गतीका बलर सोएब अख्तरले अस्ट्रेलिया भ्रमणका क्रममा गलत बुझाइका कारण यौन दुर्व्यवहारको आरोप खेप्नु परेको थियो । सोएबअनुसार पाकिस्तानी क्रिकेटर र एक महिलाबीच केही विवाद भएको थियो । तर, ती महिलाको गलत बुझाइका कारण उनीमाथि यौन दुर्व्यवहार आरोप लाग्यो । ती महिलाले सोएबले नै उनीमाथि  विवादका क्रममा दुर्व्यवहार गरेको सोचेकी थिइन् । 

यो घटनापछि सबैले शंका गर्न थालेपछि सोएबले पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) लाई स्पष्टीकरण जारी गर्न आग्रह गरे । तर, उनले अधिकारीहरूलाई ती महिलासँग विवादमा फसेका खेलाडीको नखुलाउने शर्त राखेका थिए । पछि पाकिस्तान क्रिकेटको प्रशासकीय निकायले शोएबलाई दोषी घोषित गरिएको मिडिया रिपोर्टको खण्डन गर्दै स्पष्टीकरण जारी गरेको थियो । 

यीबाहेक मलेसियाका मिनरिक सिंह, भारतका मोनाक पटेल, हार्दिक पाण्ड्या, उदय सिंहलगायत धेरै क्रिकेटरमाथि सिन यौन दुर्व्यवहारको आरोप लागेको छ । 

  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १४:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया