यौनदुर्व्यवहारको चपेटामा किन पर्छन् सेलिब्रेटी ?

अभिनेता पल शाह (पूर्णविक्रम शाह) ले मंगलबार नाबालिग बलात्कार अभियोगबाट सफाइ पाए । जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेका हुन् । 

बलात्कार आरोपबाट सफाइ पाए पनि पललाई बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवाना फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए । 

पलले चलचित्र छायांकनका  क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन् । तनहुँ प्रहरीमा गत ११ फागुनमा र नवलपुर प्रहरीमा १५ फागुन उनका बुबाले उजुरी दिएका थिए । 

यता अभिनेता शाहकै मुद्दामा फैसला आएकै दिन अर्का सेलिब्रेटी क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । नेपाली क्रिकेट टिमका कप्तानसमेत रहेका लामिछानेले आफूलाई मदिरामा मादक पदार्थ मिसाएर लठ्ठ बनाउँदै बलात्कार गरेको आरोप लगाउँदै एक नाबालिगले मंगलबार प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । 

प्रहरीमा परेको जाहेरीअनुसार घटना ५ भदौको हो । आफूहरू सामाजिक सञ्जाल स्नापच्याटबाट जोडिएको र पछि इन्स्टाग्राममा पनि सम्पर्क भएको ती युवतीले प्रहरीमा जाहेरी दिने क्रममा बताएकी छन् । उनले ५ भदौको साँझमा सन्दीप आफूलाई लिन होस्टेल नजिक आएको र आफूहरू कफी खानका लागि बाहिर निस्किएको पनि आरोपमा उल्लेख गरेकी छन् ।

नगरकोटमा आफूहरू दुवैले मदिरा लिएको र त्यहाँबाट फर्किँदा अबेर भएपछि सन्दीपले गौशालाको एक होटलमा आफूलाई लगेको ती किशोरीले बताएकी छिन् । उनले होटलमा पुगेपछि सन्दीपले आफूलाई मदिरामा केही मिसाएर खुवाएको आरोप लगाएकी छिन् । 



समाजविज्ञ तथा भक्तपुर बहुमुखी क्याम्पसरका प्राध्यापक माधव ज्ञवालीका अनुसार सामाजिक संरचना र अर्थतन्त्रको स्वरूपले यस प्रकृतिका गतिविधि हुने बताउँछन् । नेपाली समाजमा फाइदा लिनका लागि बलात्कारको सहारा लिएको पछिल्ला घटनाक्रमले देखाएको ज्ञवाली बताउँछन् । 

बजारमा करिब दुई/तीन सयजना युवतीहरू हनिट्रयापमा संलग्न छ भन्ने तथ्यांक बाहिर आएको सन्दर्भले समेत यो कुरालाई पुष्टि गर्ने ज्ञवालीको तर्क छ । यौनको सहारा लिएर महिला र पुरुष दुवैले शोषण गरिरहेको ज्ञवालीको विश्लेषण छ । श्रीमान् विदेश भएका महिलाहरूलाई विभिन्न परिबन्धमा पारेर पुरुषले समेत यौन शोषण गरिरहका छन् । 



‘यस्ता केसहरू नेपाली समाजमा धेरै छन् । पुरुषले पनि सँगै फोटो, भिडियो खिचेर पनि निरन्तर लामो समय ब्ल्याकमेलिङ गरेको देखिन्छ । एउटा अनुशासन भएको परिवारमा त एउटा फोटोले धेरै अर्थ राख्छ । त्यहि फोटो वा भिडियो देखाएर लामो समय मानसिक तनाव दिने । शारीरिक आवश्यकता पूरा गर्ने आर्थिक लाभ लिने पुरुष पनि छन् महिला पनि छन्,’ ज्ञवालीले भने ।  

सैद्धान्तिक रूपमा कार्लमाक्सले पुँजीवादी बजार संरचनामा जबसम्म अर्थतन्त्र अनस्थिर भइरहन्छ तबसम्म यस्ता गतिविधि कायमै रहने उनले बताए । पुँजीवादी बजार संरचनामा अर्थतन्त्र अस्थिर भएका कारण यस्ता गतिविधि निरन्तर भइरहने उनको भनाइ छ ।

‘यता प्रकार्यवादी सिद्धान्तकारले यस्ता घटना घट्नु सामान्य भएको मान्छन्, समाजमा यस्ता कुरा भइरहन्छन् । समाजमा विभेद हुनुपर्छ, विचलन हुनुपर्छ भन्ने मान्यता राख्दछ,’ प्राध्यापक ज्ञवालीले भने, ‘यसको मूल जरो आर्थिक रूपमै जोडिन्छ । अहिले युवायुवतीमा शहर केन्द्रित आधुनिक गतिविधिले यस्ता घटना बढाएको छ ।’

उनले अगाडि भने, ‘शहरमा बस्न, विलाशी जीवनशैली अपनाउने प्रवृति बढ्दै गएको छ । तर, युवायुवतीहरूले अन्य कुनै काम वा व्यवसाय गरेको देखिँदैन । धेरैले यौनको सहारा लिएको हुनाले पनि यस्तो अवस्था आएको हुन सक्छ ।’ 

मनोविद् ओम बानियाँका अनुसार सामान्यतयाः कुनै व्यक्ति बलात्कार गर्न त्यस समय उत्तेजित हुन्छ, जब उसमा यौन उत्तेजना धेरै देखिन्छ । तर, उसलाई यौन उत्तेजना मेट्ने साधन प्राप्त हुँदैन । पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण पनि बलात्कारको घटना घट्ने गरेका उनले बताए । 

‘बलात्कारका अनेक कारणहरू हुन्छन्, तीमध्ये अनुकूल परिस्थिति र कामुक वातावरणले पनि बलात्कारीलाई बलात्कारका लागि उत्प्रेरित गर्ने गर्छ । जस्तो कि, पोनोग्राफी हेर्ने व्यक्तिको मस्तिष्क बढी अब्सेसिव हुनुको साथै मन कामुक हुने गर्छ,’ बनियाँले भने, ‘अधिकांश यस्ता व्यक्तिहरूमा पोर्न भिडियोमा झैँ यौन क्रिया गर्ने लालसा पैदा हुन्छ । अनि जब अनुकूल वातावरण पैदा हुन्छ, यस्ता व्यक्तिहरू बलात्कार गर्न पनि पछि पर्दैनन् । मौका मिल्यो र समातिने डर नहुने हो भने मानिस रेप गर्न संकोच मान्दैन ।’ 

मनोवैज्ञानिक दृष्टिमा पुरुषमा हुने अहंकारका कारण पनि बलात्कारका घटना हुने गरेका उनको भनाइ छ ।   

  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १४:३६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया