कर्णालीको कृषिमा लगानी गर्न व्यवसायी इच्छुक, तर प्राविधिक अभावले डराउँछन्
फरकधार / २३ भदौ, २०७९

कर्णालीमा केही वर्षयता कृषि क्षेत्रमा लगानी बढिरहेको छ । लगानीसँगै यस क्षेत्रमा प्राविधिकको माग पनि सोही अनुरूप बढिरहेको छ । रोजगारदाताको नेतृत्वमा श्रम बजार सचिवालय परियोजनाले हालै मात्र कर्णालीमा उपलब्ध जनशक्ति तथा आवश्यकताका सम्वन्धमा सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणले समेत कृषि क्षेत्रमा जनशक्ति अभावको विषय औंल्याएको छ । 

परियोजनामार्फत खासगरी निर्माण क्षेत्र, कृषि क्षेत्र र पर्यटन क्षेत्रमा जनशक्तिको अवस्थाका विषयमा कर्णालीमा सर्वेक्षण गरिएको थियो । सुर्खेत र जुम्लाका ९ सय ७९ जनसंख्यामा १ सय १४ व्यावसायिक फार्मको नमुना लिएर गरिएको सर्वेक्षणले कृषि क्षेत्रका लागि सबैभन्दा अभाव रहेको जनशक्ति नै कृषि प्राविधिक जनाएको छ ।

सर्वेक्षणअनुसार कृषि क्षेत्रका १ सय १४ फार्मका लागि अझै पनि २० जना कृषि प्राविधिकको आवश्यकता छ । कर्णालीको कृषि क्षेत्रका लागि कृषि प्राविधिक अत्यावश्यक जनशक्तिका रूपमा समेत रहेको पनि सर्वेक्षणले जनाएको छ ।



त्यस्तै, आगामी दुई वर्षमा ४० जना र पाँच वर्षपछि यस क्षेत्रमा ९५ जना जनशक्तिको आवश्यकता पर्ने सर्वेक्षणले देखाएको परियोजनाकी समन्वयकर्ता सुवेक्षा सिंहले जानकारी दिइन् । कृषि क्षेत्रमा फलफूल तथा तरकारी विषयमा प्राविधिकको माग दोस्रो स्थानमा छ । सर्वेक्षणले हालको समयमा १० जना, आगामी दुई वर्षपछि २० जना र पाँच वर्षको समयमा ३५ जना दक्ष जनशक्ति यस क्षेत्रमा आवश्यक देखिन्छन् । 



पशु प्राविधिक जनशक्तिको पनि सोही संख्यामा माग छ । कर्णालीका सुर्खेत र जुम्लामा मात्र हालको समयमा कुल ४५ जना दक्ष जनशक्ति आवश्यकता देखिन्छ । आगामी दुई वर्षपछि ९० जना र पाँच वर्षपछि १ सय ८० जना जनशक्ति आवश्यक पर्ने सर्वेक्षणले जनाएको छ ।

व्यवसायीले पनि उद्योगका लागि जनशक्ति अभाव नै रहेको बताउँछन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले वीरेन्द्रनगर–१४ मा ऋषिकेश कृषि फार्म सञ्चालनमा ल्याउँदैछन् । तर, उनलाई जनशक्तिको चिन्ता छ ।  

कँडेलले फार्मका लागि कागजी प्रक्रियासमेत टुङ्ग्याएका छन् । विशेषगरी लोकल कुखुरा, खसी–बाख्रा र फलफूलका क्षेत्रमा काम गर्ने योजनाका साथ कँडेलले फार्म सञ्चालनमा ल्याउँदैछन् । तर, कृषि उत्पादनका क्षेत्रमा जनशक्ति अभावका कारण फार्मले सोचे अनुरूप प्रगति गर्नेमा कँडेल आशंका व्यक्त गर्छन् । 

‘आवश्यक बमोजिमको राम्रै लगानी गरेर उत्पादन गर्ने योजना हो । तर, के गर्ने मान्छे पाइँदैन । त्यत्रो लगानी गरेर निर्धक्कका साथ दिन सकिने जनशक्ति पनि चाहियो नि’, उनले भने ।

कँडेल मात्र होइन अरू व्यवसायी पनि जनशक्ति अभावकै कारण पछि लगानी गर्न उत्साहित देखिरहेका छैनन् । ‘यस क्षेत्रमा लगानी गर्न चाहने थुप्रै साथीहरू हुनुहुन्छ । तर, काम गर्ने मान्छे नभएपछि लगानी खेर जान्छ कि भन्ने डर छ,’ कँडेलले भने ।

दक्ष जनशक्तिको अभावले नै कृषि क्षेत्रमा लगानी गर्न चाहनेलाई वातावरण सिर्जना हुन नसकेको उनको भनाइ छ । कृषि फार्म प्राविधिक खाद्य गुणस्तर र कृषि उत्पादनहरू सुनिश्चित गर्नका लागि यस क्षेत्रमा सहयोग गर्ने जनशक्ति हो । कृषि फार्मको योजना बनाउनु, जग्गा तयार गर्नु, बिरुवा/बालीको प्रचारप्रसार गर्नु, नर्सरीको व्यवस्थापन गर्नु, बीउ छर्ने वा बिरुवा रोप्ने, अन्तर कृषि सञ्चालन र बाली संरक्षण गर्न कृषि प्राविधिकको मुख्य भूमिका हुन्छ । 

कृषि फार्म प्राविधिकले किसानलाई सीप र ज्ञान हस्तान्तरण गर्न सिफारिससमेत गर्छन् । साथै, उनीहरूले नयाँ र उपयुक्त प्रविधि प्रदर्शन गर्दै, मार्गदर्शन र फार्मका लागि दिशानिर्देश गर्छन् । यसबाहेक कृषि प्राविधिकले किसान र अन्य खेती मजदुरलाई मौसम र माटोको अवस्थाको आधारमा सही बाली छनोट गर्न मद्दत गर्दछन् । तर, दक्ष कृषि प्राविधिक अभावका कारण यहाँका व्यवसायी र किसानले आर्थिक लाभ लिन सकिरहेका छैनन् ।

  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार ११:४८:२७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया