नागरिकता विधेयक राष्ट्रिय हितविपरीत, सत्ता टिकाउन घृणित काम भए : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको पनि बताए । 

पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।

‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा लुकाएर बुच्चे नक्सा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने? दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने, आँच पुर्‍याउने कुरा हो । यसप्रति दुःख व्यक्त गर्नुपर्छ । यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो,’ पोखरेलले भने । 

उनले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको पनि बताए । पोखरेलले अहिलेको गठबन्धन सरकारले सीमापारिबाट बिवाद गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए ।

उनले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गरे । पोखरेलले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हित, स्वाभिमान विपरीत रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको बताए ।

‘नागरिकता विधेयकको बारेमा अघि साथीहरूले भन्नुभयो । हामीले नागरिकता विधेयकसम्बन्धी कुराहरू गरिरहँदा हाम्रो अडान के हो भने आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ, जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ । तर अहिले के गरियो भने सीमा पारीबाट विवाह गरेर आज ल्यायो, सिउँदोमा सिन्दुर हाल्यो, भोलिपल्ट नागरिकता दियो, पर्सि जननिर्वाचित प्रतिनिधि भयो, यो चिज उचित हुँदैन,’ उनले भने ।



वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी पनि गरे । उनले राष्ट्रिय विकास र समृद्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताए । उनले नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न नचाहने पनि बताए ।

पोखरेलले रणनीतिक महत्वका सडकहरू ओलीको नेतृत्वमा सुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्ने प्रश्न गरे ।  



‘रणनीतिक महत्वका सडकहरू काम प्रारम्भ भएका थिए, कनि कटौती गरियो ? ३०० भन्दा धेरै अस्पताल बनाउने कुराको प्रारम्भलाई किन अवरुद्ध गरियो? जयसिंह धामीलाई तुइन काटेर हत्या गरियो, गठबन्धन सरकार चुँसम्म बोल्न सकेन । चुच्चे नक्सा मेटाउने अपराधपूर्ण काम गर्ने जोसुकै होस् ती पात्रहरूलाई हामी कहिल्यै स्वीकार गर्न सक्दैनौँ । नागरिकता विधेयकमा राष्ट्रिय हित विपरित काम गर्ने कुराप्रति हामी स्वीकार गर्न सक्दैनौँ,’ उनले भने । 
वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका हकहित, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने बताए । 

  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १३:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया