हिजोका सहकर्मी बन्दैछन् आउने चुनावमा प्रतिस्पर्धी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मकवानपुरका नेता तथा कार्यकर्ताहरूले आफ्नो तयारी थालिसकेका छन् । जिल्लामा चुनावी माहौल बढ्दै गएको छ । अहिले उम्मेदवारमा पार्टीले सिफारिस गरेका देखि स्वतन्त्र बाट निर्वाचनमा होमिन लागेकाहरूको दौडधूप बढिरहेको हो । 

त्यसो त आगामी संघीय निर्वाचनमा मकवानपुरमा रोचक भिडन्त हुने आकलन छ भने गत २०७४ को प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचनमा एउटै दल भएर मत माग्दै हिँडेकाहरू आगामी निर्वाचनमा प्रतिस्पर्धाको भूमिकामा उभिने भएका छन् । 

दुई वटा प्रतिनिधि सभा क्षेत्र तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा गत निर्वाचनमा नेकपा एमाले तथा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका र उम्मेदवारलाई सघाएका हरू आगामी निर्वाचनमा मैदान उत्रँदै छन् । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए । आगामी निर्वाचनमा पनि खतिवडाको सम्भावना बलियो छ । तर यो पटक उनी एकीकृत समाजवादीबाट सिफारिसमा परेका हुन् । ५ पुस २०७७ मा संसद विगठन भएपछि नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा लागेका खतिवडा आगामी निर्वाचनका लागि पनि बलियो दाबेदार हुन् ।

त्यसो त, उनको प्रतिद्वन्द्वी का रूपमा अघिल्लो निर्वाचनमा खुलेर भोट माग्दै हिँडेका युवा नेता छन् ।  नेकपा एमालेका बागमती प्रदेश कमिटी उपमहासचिव युवा नेता महेश बर्तौलाले टिक पाउने सम्भावना बलियो बन्दै गएको छ । खतिवडा र बर्तौला दुवैले निर्वाचन क्षेत्रमा आफ्नो गतिविधि बढाएका छन् । एकै पार्टीका नेताहरू फुटेर दुई वटा बन्दै गाउँ गाउँ भोट माग्न जाँदा केही रोचक देखिए पनि चुनौती पनि उत्तिकै सामना गर्नुपर्ने देखिन्छ । एमालेबाट बर्तौलासहित संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी र बुद्ध रत्न मानन्धर सिफारिस भएका छन् । तर तीन जना मध्ये जसले टिकट पाए पनि पहिलेका सहयात्री आगामी निर्वाचनमा प्रतिद्वन्द्वी बन्ने कुरामा दुई मत छैन । 

 रोचक विषय के हो भने ४ पटकसम्म निर्वाचन लडेर विजयी भएका खतिवडा सँग पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेका बर्तौलाको भिडन्त पर्ने भएको हो । खतिवडाले मकवानपुरबाट २०४८, ०५१, ०५६ र ०७४ मा गरी चार पटक प्रत्यक्ष निर्वाचन जितिसकेका छन् भने बर्तौलाको पहिलो उम्मेदवारी रहनेछ । 

त्यसो त जिल्लामा अर्को एउटा रोचक भिडन्त हुने आकलन गरिएको छ । यसअघिको निर्वाचनमा एकै पार्टी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय (डिना) लाई सघाएका कांग्रेसका पुराना नेता भरतप्रसाद पराजुलीको आगामी प्रतिनिधि सभाको निर्वाचनमा भिडन्त हुने आकलन चुलिएको हो । 



पार्टीले अवसर नदिएको भन्दै नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका पराजुली आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर २ बाट सिफारिसमा परेका छन् । त्यसो त उपाध्याय पनि क्षेत्र नम्बर २ बाट नै प्रतिनिधि सभा निर्वाचनका लागि एकल सिफारिसमा परेकी छन् । पार्टीगत हिसाबले हितैषी रहेका व्यक्तिहरू पार्टी परिवर्तन सँगै प्रतिस्पर्धाका रूपमा उभिन लागेका हुन् । 

लामो समयसम्म नेपाली कांग्रेसमा रहेर पार्टीको हितका निम्ति लागिपरेका पराजुली पहिलो पटक निर्वाचनमा होमिन लागेका नयाँ अनुहार हुन् । त्यसो त उम्मेदवार सँगै पार्टी र पार्टीको चुनावी चिन्ह समेत नयाँ रहेका पराजुली पनि पहिलेका सहयात्री सँग प्रतिस्पर्धा गर्ने लगभग निश्चित नै भएको छ । डिनासँग मात्रै नभएर अन्य राजनीतिक दलका नेताहरुसँग समेत हुने प्रतिस्पर्धामा आफ्नै सहयात्रीहरू सँगको प्रतिस्पर्धाले चुनावी माहौल गरम बनाउने चर्चा चलिरहेको हो । नेपाली कांग्रेस मकवानपुरकी बलियो नेतृको रूपमा परिचित उपाध्यायको पोल्टामा चुनावी सफलता भने पर्न सकेको छैन । 



 २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन् । २०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन् । २०७४ सालमा भएको निर्वाचनमा पनि डिना पुनः एक पटक खतिवडासँगै पराजित हुन पुगिन् । अघिल्ला निर्वाचनहरूमा हार व्यहोर्न परे तापनि आगामी प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन भए विजयी हुने पक्का पक्की छ ।  

  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १४:३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया